घनश्यामको साथले फुरुंग माधव नेपाल, सरकारमा तत्काल जाने सुरमा छैनन्-Sutra News

घनश्यामको साथले फुरुंग माधव नेपाल, सरकारमा तत्काल जाने सुरमा छैनन्

सोमबार, २ माघ २०७९

सोमबार, २ माघ २०७९

काठमाडौं – पछिल्ला समय नेपाली राजनीतिमा रोचक घटनाक्रम देखिइरहेका छन् । स्थानीय तह र संघिय निर्वाचनमा गठबन्धन गरेका दलहरु प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकोे सरकारको नेतृत्व गर्ने लोभले छुट्टिन पुगेका छन् ।



माओवादी अध्यक्ष समेत रहेका प्रचण्ड कुनै समय पानी बाराबारको अवस्थामा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अहिले मिलेर सरकारको नेतृत्व गरिरहेका छन् । प्रचण्डको नपत्याउँदो कदमले नेपाली कांग्रेस र एकीकृत समाजवादी पार्टी अहिले प्रतिपक्षमा बस्न बाध्य छन् ।

अहिले नेता घनश्याम भूसालले डेढ वर्षपछि आफूलाई साथ दिदा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निकै खुशी छन् । केपी शर्मा ओली नेतृत्वको एमाले छाडेका भुसाल आफूलाइृ साथ दिन आउँदा अध्यक्ष नेपाल केही ढुक्क महसुस गरिरहेका छन् ।

तत्कालीन नेकपा र पछि एमालेमा नेपाललाई सुरुमा साथ दिएका भुसाल पार्टी विभाजनका बेला ओलीसँगै बसेका थिए । तर पछि नेपालले आफ्नै पार्टी खोले । त्यसबेला नेपाललाई साथ दिने मध्ये भुसाल पनि थिए । केही समय ओलीको पार्टीमै बसे पनि भुसाल टिक्न सकेनन् । गत प्रतिनिधिसभा निर्वाचनमा भुसाललाई एमालेले उम्मेदवार पनि बनाएन ।

ओलीको रापतापले हैरान परेपछि भुसालले गत असोज २३ मा एमाले छाडे । पार्टी छाडेपछि भुसाल रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवार बने । भुसाल गत शुक्रबार एकीकृत समाजवादीमा प्रवेश गरिसकेका छन् ।

भुसाललाई एकीकृत समाजवादीले सचिवालय सदस्यको जिम्मेबारी पनि दिएको छ । भुसालले पुस २९ गते स्वघोषणा गरी यस पार्टीमा आवद्ध भएर नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको अभियानमा क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।

पार्टी प्रबेश गरेपछि भुसालले षड्यन्त्रपूर्ण राजनीति र विकाउपूर्ण अदालतको गठबन्धनले नेकपा विभाजन गराएको बताएका थिए । नेपालको कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनका लागि एकीकृत समाजवादी असाधारण बलियो ठाउँ भएको उनको भनाई थियो । भुसाल पार्टीमा प्रबेश गरेपछि नेपाली कम्युनिष्ट आन्दोलनलाई बलियो शक्तिका रुपमा विकास गर्न अझ हौसला मिलेको एकीकृत समाजवादीका नेताहरुले बताइरहेका छन् ।

एकीकृत समाजवादी अहिले नेपाली कम्युनिष्ट आन्दोलनलाई बलियो शक्तिका रुपमा विकास गर्ने उद्देश्यले समाजवादी कार्यदिशा अँगालेका व्यक्ति तथा विभिन्न कम्युनिष्ट समूहसँग वार्ता गर्ने पक्षमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट