काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । सोमबार बसेको सत्ता साझेदार दलको बैठकले मन्त्रालयको टुंगो लगाएको थियो । कुन मन्त्रालय कसलाई दिने भन्ने टुंगो लागे लगत्तै मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको हो । मन्त्रिपरिषद् विस्तारपछि आज नै शपथ कार्यक्रम पनि गरिने भएको छ ।
सोमबारको बैठकबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई थप दुई मन्त्रालय दिने निर्णय भएको छ । रास्वपाले गृह, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने भएको छ । यसअघि रास्वपाका सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बनिसकेका छन् । अब शिक्षा, विज्ञान तथा प्रविधि र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा केही नेताहरुको चर्चा छ । यस्तै रास्वपाले एक राज्यमन्त्री पनि पाउने भएको छ ।
यस पार्टीमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा काठमाडौं ६ बाट निर्वाचन जितेका शिशिर खनालको चर्चा छ । उनले काठमाडौं ६ बाट निर्वाचन जितेका थिए । यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा डोलप्रसाद अर्यालको चर्चा छ । अर्याल रास्वपाका उपसभापति हुन् भने उनले समानुपातिक तर्फबाट सांसद भएका थिए। प्रतिनिधि सभामा रास्वपाबाट २० जना सांसद रहेका छन् ।