काठमाडौं – सभामुखको निर्वाचन तयारीको विषयमा छलफल गर्न बुधबार बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठक विनानिष्कर्ष सकिएको छ । सभापति शेरबहादुर देउवाको निवासमा बसेको उक्त बैठकले अन्य सहयोगी दलको सहयोगमा सभामुखको उम्मेदवार उठाउने निर्णय गरेको छ ।
सभामुखको निर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्ने समय अझै केही घण्टा बाँकी रहेको र यसबारे अझै छलफल गर्ने र उम्मेदवारीबारे टुंगो लगाउने प्रवक्ता प्रकाशशरण महतले बताए । कांग्रेसमा विमलेन्द्र निधि र अर्जुननरसिंह केसी सभामुखको उम्मेदवारका आकांक्षी छन् ।
यदि कांग्रेसले उम्मेदवारी नदिएमा एकीकृत समाजवादीले उठाउने उम्मेदवारलाई समर्थन गर्ने बुझिएको छ । एकीकृत समाजवादीमा राजेन्द्र पाण्डे र भानुभक्त जोशी सभामुखका आकांक्षी छन् । कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा मात्र ध्यानदृष्टि दिएको छ ।