ओलीका निकट देवराज घिमिरे सभामुख बन्ने पक्का देखियो, को हुन् उनी ?-Sutra News

ओलीका निकट देवराज घिमिरे सभामुख बन्ने पक्का देखियो, को हुन् उनी ?

बिहिबार, ५ माघ २०७९

बिहिबार, ५ माघ २०७९

काठमाडौं – प्रतिनिधिसभाका सभामुख पदका लागि आज निर्वाचन हुँदैछ । सभामुखका लागि गठबन्धनबाट एमालेका देवराज घिमिरे र कांग्रेसका ईश्वरी न्यौपाने प्रतिस्पर्धामा रहेका छन् । घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ र समर्थकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन‚ रास्वपा सभापति रवि लामिछाने र माओवादी केन्द्रका हितराज पाण्डे रहेका छन् । एमालेका घिमिरे सभामुख बन्ने पक्का जस्तै भएको छ ।



सत्ता गठबन्धनसँग सहज बहुमत रहेकाले घिमिरे सभामुख बन्ने पक्का देखिएको हो । यसअघि २०५६ मा घिमिरे राष्ट्रियसभा सदस्य भइसकेका छन् । ताप्लेजुङ सिकैचा ३ मा जन्मिएका घिमिरे अर्जुनधारा नगरपालिका वडा ६ झापा निवासी हुन् ।

उनले गएको निर्वाचनमा स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई हराएका थिए । निर्वाचनमा उनी आफ्नै ठाउँबाट नै उठेका थिए । एमाले प्रदेश १ का इन्चार्ज समेत रहेका घिमिरे एमाले अध्यक्ष केपी शर्मा ओलीका निकट मानिन्छन् ।

सभामुखको निर्वाचनमा उनीसँग कांग्रेसका ईश्वरी न्यौपाने प्रतिस्पर्धा गर्दैछिन् । न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, समर्थकमा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला र कांग्रेस सांसद रमेश लेखक छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट