काठमाडौं – उपप्रधान तथा ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले उद्योगी, व्यापारीहरुलाई ढुक्कसँग लगानी गर्न आग्रह गरेका छन् । शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नेपाल इलेक्ट्रिक्स पावर लाइट्स अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै उनले विदेशी उद्योगीहरुलाई पनि नेपालमा लगानीमैत्री वातावरण रहेकाले ढुक्कसँग लगानी गर्न आग्रह गरे । सरकारले लगानीकर्ताको सम्पूर्ण सुरक्षाको जिम्मा लिने भन्दै उनले लगानीको पूर्ण ग्यारेन्टी गर्ने पनि प्रतिबद्धता जनाए ।
उनले कुनै पनि सार्वजनिक कार्यक्रममा लामो समय पलेँटी कसेर बस्ने समय आफूलाई नभएको पनि बताए । उनले भने – ‘कुनै पनि सार्वजनिक कार्यक्रममा लामो समय पलेँटी कसेर, उपरखुट्टी लाएर बस्ने छुट र समय मलाई छैन । संक्षिप्त समय निकालेर म आएको छु । यो सरकारले लगानीमैत्री वातावरण बनाउँछ । ‘
उनले थपे – ‘यो सरकारले लगानीमैत्री वातावरण बनाउँछ, अब उद्योग दर्ता र कुनै पनि कामहरु, प्रक्रियाहरु लामो जानुपर्ने फाइल घुमिराख्ने लालफित्ता साहीको अन्त्य हुन्छ, रेड ट्यापिजमको अन्त्य हुन्छ, एउटै टेबुलबाट सबै काम सक्ने प्रक्रिया हामीले निर्धारण गर्न लागेका छौँ ।’
नेपालको ऊर्जा नेपालमा नै खपत गर्ने कुरामा लाग्नुपर्ने भन्दै उनले विद्युतीय सामग्रीहरुको बढी प्रयोग गरेर विद्युत् खपत बढाउनुपर्ने बताए ।