कृषि विकास बैंकले आफ्नो ५६ औँ वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकलाई विभिन्न क्यास व्याक अफर योजना ल्याएको छ ।
बैंकले मोवाइल बैंकिङ सेवा लिई हालसम्म कुनै पनि कारोवार नगरेका ग्राहकहरुले एक पटकमा पाँचसय रुपैयाँ वा सोभन्दा वढी रकमको मोवाइल टपअप गर्दा ५६ जना ग्राहकलाई जनही ५६० रुपैयाँका दरले क्यास ब्याक प्रदान गर्ने योजना ल्याएको हो ।
यसैगरी बैंकले मोवाइल बैंकिङ सेवा उपयोग गरिरहेका ग्राहकहरुले एक पटकमा पाँचसय रुपैयाँ वा सोभन्दा वढी मोवाइल टपअप गरेमा २ जना ग्राहकहरुलाई एक/एक थान स्मार्ट मोवाइल सेट उपलब्ध गराउने जनाएको छ । यस योजना २०७९ माघ ७ गतेदेखि एकमहिनासम्म रहने बैंकले उल्लेख गरेको छ ।
साथै बैंकको ५६ औं वार्षिकोत्सवका दिन क्युआर मर्चेन्टहरुले QR Code मार्फत् भुक्तानी स्वीकार गरेमा पहिलो ५६ जना क्युआर मर्चेन्टहरुलाई एकसय रुपैयाँका दरले बोनस प्रदान गर्ने र बैंकको मोबाइल बैंकिङ प्रयोग गरी नेपाल विद्युत प्राधिकरणको बिल तथा आन्तरिक हवाइ उडानको टिकट खरिद गरेमा प्रथम ५६/५६ जनालाई एकसय रुपैयाँका दरले क्यास ब्याक प्रदान गर्ने भएको छ ।
बैंकले विद्युतीय कारोवारलाई प्राथमिकता दिई डिजिटल नेपाल बनाउन योगदान दिने उदेश्यले यस्तो योजना ल्याएको बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीले जानकारी दिए । उनका अनुसार हाल बैंकका करिब १० लाख ग्राहकले मोवाइल बैंकिङ डाउनलोड गरी सञ्चालन गरिरहेका छन् ।
बैंकले मोवाइल बैंकिङ सेवाका अतिरिक्त बैंकले इन्टरनेट बैंकिङ, आइपिएस, कनेक्ट आइपिएस, कर्पोरेट पे, आरटिजिएस, भिसा डेविट कार्ड, डलर प्रिपेड कार्ड, भिसा क्रेडिट कार्ड लगायत अत्याधुनिक डिजिटल बैकिङ सेवाहरु प्रदान गरिरहेको जनाएको छ ।
मोवाइल बैंकिङ सेवा लिएका ग्राहकले मोवाइल उपकरणबाटै स्वचालित प्रणालीमा आधारित भई मुद्धती खाता समेत खोल्न सक्नेछन् । यो सेवा कृषि विकास बैंकले नेपालको बैंकिङ क्षेत्रमा नै प्रथम पटक सुरु गरेको हो । यसका अतिरिक्त ग्रामीण क्षेत्रमा विद्युतीय कारोवार विस्तार गर्न किसान कार्ड र किसान एप सञ्चालनमा ल्याएको छ ।
यो सेवाबाट किसानहरुको कारोवारमा विद्युतीकरण गर्न बैंक सफल भएको छ । बैंकमा चल्ती तथा वचत खाता भएका ग्राहकले मोवाइल बैंकिङ मार्फत् यस प्रकारको भुृक्तानी गर्न सक्ने व्यवस्था रहेको कुरा बैंकको डिजिटल बैंकिङ् विभागका विभागीय प्रमुख गिरिराज रेग्मीले बताएका छन् ।