कृषि विकास बैंकले विद्युतीय भुक्तानीको कारोवारमा विगतदेखि जोड दिँदै आइरहेको छ । बैंकका आफ्ना एक्सटेन्सन काउन्टर सञ्चालन गरेका अस्पताल तथा कलेजहरुमा यो सेवा उपलब्ध हुँदै आइरहेको बैंकले जनाएको छ ।
विशेषगरी सिभिल अस्पताल, काठमाण्डौं र वि.पि. कोइराला क्यान्सर अस्पताल, भरतपुर, चितवनका सेवाग्राहीले यी अस्पतालको विलमा भएको भुक्तानीका लागि क्यू.आर. कोड स्क्यान गरी सहज रुपमा भुक्तानी गर्न सक्ने जनाएको छ ।
यो सेवाको विस्तार पश्चात अस्पतालमा सेवा लिन जाने सेवाग्राहीहरु नगद बोकेर लैजाने झन्झटबाट मुक्त हुने विश्वास बैंकले लिएको छ । बैंकको मोवाइल बैंकिङ सेवाको माध्यमबाट तथा फोन पे नेटवर्कमा आबद्ध विभिन्न बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले क्यू.आर. कोड स्क्यान गरी सेवाग्राहीको सेवा शुल्क सिधै अस्पतालको खातामा जम्मा गर्न सक्ने व्यवस्था रहेको बैंकले जनाएको छ ।
यस प्रकारको सेवाले अस्पताललाई नगद व्यवस्थापन गर्न सजिलो भएको छ भने हिसाव कितावमा पनि भुलचुक कम हुने, छिटोछरितो हुने र पारदर्शिता समेत रहेको अस्पतालको अनुभव रहेको छ । यसरी अस्पतालको व्यवस्थापन र सेवाग्राही दुबै बैंकको यस सेवाप्रति सन्तुष्ट रहको अस्पतालले जनाएका छन् ।
बैंकको ५६ औँ वार्षिकोत्सवको अवसरमा बैंकले विद्युतीय कारोवारलाई प्राथमिकता दिई डिजिटल नेपाल बनाउन योगदान दिने उदेश्यले यस्तो योजना ल्याएको प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले बताए ।
क्यू.आर.कोडबाट भुक्तानी गर्दा ग्राहकको कारोवार पूर्ण रुपमा सुरक्षित हुने र कारोवारमा फरक परेमा हिसाव मिलान पनि सहज हुने बैंकको डिजिटल बैंकिङ विभागका विभागीय प्रमुख गिरीराज रेग्मीले वताए ।