काठमाडौं – ज्यान लिएको अभियोग लागेका लक्ष्मी महतो कोइरी अहिले खुलेआम घुमिरहेका छन् । मधेश आन्दोलनको समयमा एक सुरक्षाकर्मीको ज्यान लिएको अभियोग लागेका महतो गृह मन्त्रालयलेको निर्देशनपछि पनि पक्राउ पर्न सकिरहेका छैनन् । महोत्तरी-१ बाट निर्वाचित सांसद समेत रहेका महतो प्रशासन तथा प्रहरीको आँखा नै अगाडी हिड्डुल गरेर चुनौती दिइरहेका छन् ।
सपथग्रहणदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिँदासम्म उनी पक्राउ पर्न सकेनन् । संसदमा देखि देखि गृहमन्त्री रवि लामिछानेले वास्ता नगरेको भन्दै प्रश्न उठ्न थालेपछि गृह मन्त्रालयले विज्ञप्ति पनि निकालेको थियो । गत शुक्रबार गृह मन्त्रालयले कर्तब्यज्यान मुद्दामा तारेख गुजारी फरार महतोलाई पक्राउ गरी कानुनबमोजिम कारबाही अघि बढाउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो । तर आजसम्म पनि उनी पक्राउ गर्न सकेका छैनन् । अहिले गृहमन्त्री लामिछाने र गृहमन्त्रालयको आलोचना भइरहेको छ ।
गृहमन्त्री लामिछानेले पटकपटक मौखिक निर्देशन दिँदा र विज्ञप्ति निकाल्दा समेत प्रहरीले किन पक्राउ गर्न सकेन भन्ने धेरैको प्रश्न छ । गृहमन्त्रीको मौखिक निर्देशन प्रहरीले नमानेको देखिएको र सुरक्षा संवेदनशीलता तथा गोपनीयताको विपरीत रहेको भन्दै कांग्रेस सांसदहरुले पनि आलोचना गरिरहेका छन् । शनिवारको प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसदद्वय रामहरि खतिवडा र अर्जुननरसिंह केसीले तत्कालले पक्राउ पुर्जी जारी गरेको अभिव्यक्तिलाई पक्राउ गर्न नसक्ने र विज्ञप्ति जारी गरेको भन्दै आपत्ति जनाए ।
नेता खतिवडाले गृहमन्त्रीको मौखिक निर्देशन प्रहरीले मान्न छाडेको र गृहमन्त्री लामिछानेले केटाकेटीपन प्रदर्शन गरेको बताए। पूर्वगृहसचिव गोविन्द कुसुमले भने मन्त्रालय वा गृहमन्त्रीको लिखित र मौखिक वा जस्तोसुकै माध्यमबाट भएको निर्देशन प्रहरीले मान्नु पर्ने बताएका छन् । यदि नमानेपनि कारबाही गर्ने अधिकार गृहमन्त्रीमा हुने उनीबताउँछन् ।
अभियुक्त पक्राउ गर्न प्रहरीलाई निर्देशन दिँदा सार्वजनिक विज्ञप्तिमार्फत गर्न नहुने पनि उनको भनाई छ । एक अभियुक्त खुलेआम घुमिरहदा पक्राउ गर्न नसकेको भन्दै सामाजिक सञ्जालमा पनि गृहमन्त्री लामिछानेमाथि आलोचना भइरहेको छ । लामिछानेमा बोली र कार्यमा अरु नेताहरु जस्तै फरक देखिएको समेत बताउन थालिएको छ । आफ्नो निर्देशनपछि पनि सांसद कोइरीलाई पक्राउ गर्न नसकिएपछि अहिले गृहमन्त्री लामिछाने तनावमा देखिएका छन् ।
के गरेका थिए संसद महतोले ?
मधेश आन्दोलनको समयमा लखेटी-लखेटी घाइते बनाएर उपचार गर्न लैजाने क्रममा एम्बुलेन्सबाट नै निकालेर सुरक्षाकर्मी थमन विकको ज्यान लिएको उनीमाथि आरोप छ ।
उच्च अदालत जनकपुरले २०७७ मा महतोलाइ पक्राउ गरेर पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । २०७७ देखि फरार रहेका उनी २०७९ को निर्वाचनमा महोत्तरी १ बाट नेकपा एमालेवाट टिकट लिएर निर्वाचन लडे । उनले बारेसमार्फत मनोनयन दर्ता गराएर उनी चुनाबमा प्रतिस्पर्धामा उत्रिए । चुनावमा नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणी पोखरेललाई पराजित गर्न पनि सफल भए ।
बारेसमार्फत मनोनयन दर्ता गराएर चुनावी प्रतिस्पर्धामा होमिएका महतो माओवादी केन्द्रका उपमाहासचिव गिरिराजमणी पोखरेललाई पराजित गर्दै विजयी बनेका हुन् ।निर्वाचन आयोगबाट हस्तान्तरण गर्ने प्रमाणपत्र समेत वारेसमार्फत नै बुझे । त्यति माश होइन प्रहरीको आँखा छलेर नै सपथग्रहण पनि लिए ।