काठमाडौं । नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अहिले अनुसन्धान गरिरहेको छ। यसैबीच स्पट फिक्सिङमा संलग्न भएको आरोपमा दुई जना खेलाडी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी रहेका छन् । लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा उनीहरुलाई सीआईबीले पक्राउ गरेको हो । पक्राउ परेका आलम नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्वअलराउण्डर पनि हुन् ।
यस्तै अन्सारीले गत जेठमा मात्रै अमेरिकाविरुद्धको खेल खेलेका थिए । सीआईबी स्रोतका अनुसार क्यानको रणनीति साझेदार सेभेन थ्री स्पोर्टस्का मालिक जतिन अहुवालियाको योजना अनुसार स्पट फिक्सिङमा सहयोग गरेको बताइएको छ । आलमले जतिनलाई अन्य खेलाडीहरुसँग पनि सम्पर्क गर्न सहयोग गरेको पनि सीआइबीको भनाई छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म नेपाल टी २० लिग भएको थियो। खेलमा सबै टिमबाट गरेर ५६ नेपाली र ३४ जना विदेशी खेलाडी सहभागी थिए। उक्त खेलमा म्याच फिक्सिङ गर्ने प्रयास भए पनि अनुसन्धान सुरु भएपछि सम्भव नभएको सीआइबीको भनाई छ । सीआईबीका निर्देशक उत्तम सुवेदीले बेटिङबाट असूली गर्ने उद्देश्यले यो प्रयास भएको बताएका छन् ।