काठमाडौं – जेम्स क्यामरुन निर्देशित फिल्म ‘अवतार–द वे अफ वाटर’ को पछिल्लो समय चर्चा चलिरहेको छ । विश्वभर प्रदर्शनमा आएको यस फिल्मले हालसम्म धेरै कमाई गर्न सफल भएको छ ।
यो फिल्म विश्व फिल्मको इतिहासमा सर्वाधिक कमाउने छैटौं फिल्म बनिसकेको छ । सन् २००९ मा रिलिज भएको ‘अवतार’ले पनि धमाकेदार कमाई गरेको थियो । हालसम्म अवतार, एभेन्जर्स स् एण्डगेम, टाइटानिक, स्टारवार्स स् द फोर्स अवेकन्स र एभेन्जर्स स् इन्फिनिटी वार सर्वाधिक कमाउने फिल्म बनिसकेका छन् ।
गत पुसको शुरुमै रिलिज भएको अवतार २ ले नेपाली बक्स अफिसमा हालसम्म साढे ९ करोड रुपैयाँ कमाउन सफल भएको छ । विश्वभरमा यस फिल्मको कमाई २ बिलियन डलर पुगेको छ । यो फिल्म बनाउने सोच जेम्स क्यामरुनलाई उनकी आमामार्फत् आएको थियो । उनकी आमाले सपनामा जुन कुरा देखिन्, त्यो कुरा जेम्सलाई सुनाएपछि जेम्स ‘अवतार’ बनाउन प्रेरित भएका थिए ।
जेम्सकी आमा शर्ली क्यामरुनले एउटा सपना देखेकी थिइन् । जुन सपनामा उनले १२ फिटकी निलो रंगकी युवती देखेकी थिइन् । उनी आमाले आफूले देखेको सपना छोरा जेम्सलाई एक कथाका रुपमा बताइन् । तर, आमाको सपनाको कुरा सुनेर जेम्सलाई एउटा यस्तो फिल्म बनाउने सोच आयो, जुन एक ग्रहको कथा थियो । जहाँ १० देखि १२ फिट अग्ला र निलो रंगका मानिस बस्छन् । जसको अनुहार र शरीर फरक छन् ।
जेम्सले ‘अवतार’ बनाउने सोच त्यो समयमा गरेका थिए, जुन समयमा उनले लियोनार्डो डिकाप्रियो र केन्ट विन्सलेट स्टारर फिल्म ‘टाइटानिक’ बनाउने बारेमा सोचेका पनि थिएनन् ।
लामो समयदेखि जेम्सको दिमागमा ‘अवतार’ बनाउने सोच थियो । तर, उनले सन् १९९७ मा रिलिज फिल्म ‘टाइटानिक’ बनाए । यो फिल्मपछि उनले तीन वर्षसम्म अवतारका लागि काम गरे । यसले पनि निकै राम्रो कमाई गर्न सफल भयो ।