विभिन्न समूहमा विभाजित पाँच कम्युनिस्ट पार्टीबीच एकीकरणका लागि छलफल तीव्र पारिएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल (जसपा) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)बीच एकीकरण छलफल तीव्र बनेको हो ।
नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा)बीच एकीकरण विषय टुंगो लागिसकेको छ । माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादी तीनै पार्टीले एकीकरणका लागि वार्ता टोली गठन गरेर छलफल थालेका छन् । तीनै पार्टीले एकअर्काको दस्तावेज लिएर अध्ययनसमेत गरिरहेका छन् ।
जसपासँग एकीकरणका लागि छलफल गरेको एकीकृत समाजवादीले माओवादी केन्द्रसँग पनि छलफल थालेको छ । तीनै पार्टीबीच छुटाछुटै छलफल भएको छ ।
जसपा र एकीकृत समाजवादीबीच विभिन्न चरणमा छलफल भइसकेको छ । अहिले दुवै पार्टीको वार्ता टोलीमा रहेका नेताले एकअर्काको दस्तावेज अध्ययन गरिरहेका छन् ।
उता, एकीकृत समाजवादी माओवादी केन्द्रसँग समेत एकीकरणका लागि दस्तावेज अध्ययन गरिरहेका छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीबीच स्थानीय निर्वाचनपछि एकीकरणका लागि वार्ता टोली गठन गरेर छलफल भएको थियो । तर, संघीय र प्रदेशसभा निर्वाचनमा जुटेकाले एकीकरण प्रक्रिया रोकिएको थियो ।
नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, आजपा र नेसपा प्रतिनिधिसभा ५५ सिटसहित शक्तिशाली दल बन्ने रणनीतिमा
निर्वाचनअघि नै माओवादी केन्द्र र डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाबीच एकीकरण सहमति भइसकेको छ । सो सहमतिअनुसार नेसपाका नेता माओवादी केन्द्रको चुनाव चिह्न र घोषणापत्र लिएर निर्वाचनमा सहभागी भए । केही दिनभित्रै दुवै पार्टी एकीकरणको औपचारिक घोषणा तयारीमा छन् ।
तर, सो एकीकरणअघि अन्य दलबीचसमेत सहमति जुटाएर एकै चरणमा एकीकरण घोषणा तयारीमा शीर्षनेता छन् । विभिन्न चरणमा पार्टी एकताका लागि जुटेका दलले प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)लाई समेत एकीकरण प्रक्रियामा सहभागिता लागि पहल थालेका छन् ।
एकीकृत समाजवादी उपमहासचिव एवं वार्ताटोली सदस्य प्रकाश ज्वाला पार्टी एकीकरणका लागि भइरहेको छलफल सकारात्मक रूपमा अगाडि बढेको बताउँछन् । विभिन्न चरणमा छलफल भएको बताउँदै उनले धेरै विषयमा सहमति जुटिसकेको दावी गरे ।
‘अहिले हामी एकअर्काको दस्तावेज अध्ययन गरिरहेका छौं । यसबीच पटकपटक छलफल भयो, साझा विषय त्यतिकै सहमति हुने नै भयो, सहमति हुन नसकेको विषयमा शीर्षनेता बसेर टुंगो लगाउनुहुन्छ,’ ज्वालाले राजधानीसँग भने ।
एकीकृत समाजवादीबाट वार्ता टोली संयोजकमा महासचिव डा. बेदुराम भुसाल, उपमहासचिव ज्वालासहित अर्का उपमहासचिव डा. विजय पौडेल वार्ता टोली सदस्य छन् ।
यसैबीच, मंगलबार एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियान संयोजक वामदेव गौतमबीच एकता छलफल भएको छ ।
एकीकृत समाजवादी केन्द्रीय कार्यालय आलोकनगरमा भएको छलफलमा अध्यक्ष नेपालले एकीकृत समाजवादीमा प्रवेश गरी एकताबद्ध तरिकाले अगाडि बढ्न प्रस्ताव गरेको ज्वाला बताउँछन् । नेपालको प्रस्तावमा गौतमले छिट्टै निर्णय गरेर जवाफ दिने बताएका छन् ।
माओवादी केन्द्रले उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा नेता उपमहासचिवद्वय गिरिराजमणि पोखरेल र शक्ति बस्नेत सदस्य रहेको वार्ता टोली गठन गरेको छ ।
यसैगरी, जसपाबाट वार्ताटोली संयोजकमा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, सदस्यमा रकम चेम्जोङ र गोविन्द चौधरी रहेका छन् ।
टोलीमा सहभागी एक नेताका अनुसार माओवादी केन्द्र अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच ‘गोप्य छलफल’पछि पार्टी एकीकरणका लागि वार्ता टोलीले आन्तरिक गृहकार्य तीव्र पारेको हो ।
‘राष्ट्रपति निर्वाचनअघि नै पार्टी एकीकरण गर्नेगरी गृहकार्य भइरहेको छ । यदि कुनै कारण एकीकरण नभए कार्यगत एकता’bout समेत छलफल भएको छ,’ ती सदस्यले भने, ‘तीनै पार्टीका अध्यक्ष एकताका लागि सकारात्मक छन् । त्यसअनुसार हामीले पनि छलफल थालेका छौं, केही दिन केही हुन्छ ।’
गत साता एकीकृत समाजवादी र जसपाका वार्ता टोलीबीच छलफल भएको थियो । तीनै पार्टीका अध्यक्षको संयुक्त छलफलपश्चात् शनिबार र आइतबार गरी वार्ता टोलीबीच सघन छलफल भयो । सोमबारसमेत आन्तरिक छलफल गर्दै एकीकरण कार्य टुंगो लगाउने’bout कुराकानी भएको छ ।
स्रोतका अनुसार मुख्यत वैचारिक र सैद्धान्तिक विषयमा मिलनविन्दु खोजी जारी छ । अरु विषय मिले पनि वैचारिक र सैद्धान्तिक मिलाउन वार्ताटोलीलाई सकस परेको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गरिरहेका छन् । एमालेसहितका दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्ड नेतृत्वको सरकारलाई एकीकृत समाजवादी र जसपाले समेत विश्वासको मत दिएका छन् ।
मन्त्रिपरिषद विस्तारअघि भएको भागबन्डाप्रति असन्तुष्टि जनाउँदै जसपा सरकारमा सहभागी छैन । एकीकृत समाजवादी कांगेस नेतृत्वको विपक्षी गठबन्धनमा रहेको छ ।
प्रतिनिधि र प्रदेशसभा निर्वाचनअघि माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा कांग्रेस नेतृत्वको गठबन्धनमा थियो । सिट बाँडफाँटमा सहमति नजुटेपछि जसपा एमाले नेतृत्वको गठबन्धनमा सहभागि भयो ।
पछिल्लो समय सरकार निर्माणअघि माओवादी केन्द्रसमेत एमाले गठबन्धनमा सहभागी भयो । तर, एकीकृत समाजवादी अझै कांग्रेस नेतृत्वकै गठबन्धनतर्फ छ । राजधानी दैनिक