नारायण गाउँले । नेता, सरकार, सिस्टम परको कुरो भयो, तर सत्य के हो भने यदि उनले आत्मदाह नगरेको भए उनको त्यति लामो स्ट्याटस मैले पनि शायदै पढ्ने थिएँ !आत्मदाह पक्कै समाधान होइन, तर समाधान के हो त भन्न सक्ने अवस्थामा पनि म छैन ! उनी लड्नुपर्थ्यो भन्ने त म पनि भन्छु, तर कहाँ कोसित कसरी लड्ने भन्ने ठोस जबाफ मसित पनि छैन । उनको स्ट्याटस एकभन्दा बढ़ी पटक पढेँ ।
आफन्तसित लड्ने कि नागरिकको हक़हित र जीवनको सुरक्षाका लागि बनाइएको पुलिससँग लड्ने कि ? हरेक अफिसमा पासो थापेर बसेको कर्मचारीतन्त्रसँग लड्ने कि, अनुदानका नाममा सरकारी सुविधा आफै उछिट्याउने जनप्रतिनिधिसँग लड्ने ? सिस्टमसँग लड्ने कि ब्याङ्कसँग लड्ने ? भाटभटेनीसँग लड्ने कि सरकारसँग लड्ने ?हरेक कदममा, हरेक मोड़मा, हरेक सासमा बाधा छ, लूट छ, शोषण छ, अव्यवस्था छ, नातावाद छ, विसङ्गति छ । कतितिर लड़िसक्ने ?
आफ्नै मनलाई सान्त्वना दिन उनमा मानसिक असन्तुलन पो थियो कि भन्ने सोच्छु, तर उनका हरेक शब्द ऱ्यासनल छन्, धेरैलाई आफैले भोगेजस्तो लाग्ने छन् । धेरैले कदमकदममा अनुभव गरिरहेका सत्य जस्ता भोगाइ छन् ।सङ्घर्ष नगरिकनै छिटै हार माने कि भन्न पनि मन तयार हुँदैन । उनका अनुभव र सुझावहरू पढ्दा र उनले खाएका धक्काहरू गन्दा मन आत्तिन्छ ।
लेख्न बाँकी केही छैन । समस्या पनि उनैले लेखेका छन्, पीड़कहरू पनि उनैले चिनाएका छन् । समाधान पनि उनैले सुझाएका छन् । सुन्नेहरूको कमी छ जस्तो पनि लाग्दैन । तर एक हप्तापछि हाम्रा प्राथमिकता र मुद्दाहरू फेरिनेछन् । हाम्रो राष्ट्रिय समस्या नागरिकता हो, राष्ट्रपतिको निर्वाचन हो, प्रदेश हो, ढोक्सा हो । एकले अर्कालाई राष्ट्रघाती भन्ने, भ्रष्टाचारी भन्ने र पाएको दिन मिलेर खाने हाम्रो मुद्दा हो । कुन दलले कुन दललाई कसरी थाङ्नामा सुताउन सक्यो भन्ने हाम्रो राष्ट्रिय सफलता हो ! त्यो हिजो पनि थियो र भोलि पनि हुनेछ ! संसद एक महिनादेखि भाषण स्थल बनेको देख्नुभएकै छ । भोलि सत्ता र प्रतिपक्षबाट प्रेमप्रसादको नाम लिएर फेरि तीन-चार थान भाषण हुनेछन् । जसले अलि भावुक बोल्नेछ, हामीले वाह वाह भन्दै क्लिप शेयर गर्नेछौं ।
प्रसङ्गवश, कता कता मनमा लागेको चाहिँ, हामीभित्र घरपरिवारमा, छरछिमेक र साथीभाइमा मानसिक स्वास्थ्यबारे पनि छलफल, काउन्सिलिङ्ग र संवेदनशीलता हुने हो भने केही ज्यानहरू बचाउन सकिन्थ्यो कि भन्ने हो । अन्य देशमा जस्तै हाम्रा प्रहरीदेखि स्कुल कलेजमा आगो नियन्त्रणबारे नियमित रूपमा सघन तालिम दिने व्यवस्था हुन्थ्यो भने केही जीवन बच्ने थियो कि भन्ने हो । ठ्याक्क भन्न त म शब्दहीन छु ! भावपूर्ण श्रद्धाञ्जलि !