काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले बलात्कारको आरोपमा निलम्बनमा परेका क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउने बारेमा आफूहरुले छलफल शुरु गरेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चन्दले यस्तो बताएका हुन् । उनले लामिछानेलाई टिममा फर्काउने बारेमा आफूहरु छलफलमा रहेको र विद्यमान कानून अनुसार नै अघि बढ्ने बताए ।
पत्रकार सम्मेलनमा चन्दले लामो अनुभवका आधारमा सेभेन थ्री स्पोर्ट्ससंग सम्झौता गरेको तर सम्झौता पछि आवश्यक जिम्मेवारीबाट पछि हटेर सेभेन थ्री स्पोर्ट्सले धोका दिएको बताए । स्पट फिक्सिङ प्रकरणले लिग नै विवादमा परेको र यसको असर क्यान र समग्र नेपाली क्रिकेटमा परेकाले अव सवै मिलेर नेपाली क्रिकेटलाई पुरानै अवस्थामा फर्काउनुपर्ने बताए ।
उनले अहिले लिगमा खेल्ने अधिकांस खेलाडीहरुले पारिश्रमिक पाइसकेको र केहि खेलाडीहरुले पनि छिटै पाउने दावी गरे । सीआईबीले गरेको छानबिनमा नेपाल टी–ट्वान्टी लिगमा स्पट फिक्सिङ भन्दै दुई क्रिकेटरलाई पक्राउ गरिएको छ भने अन्य माथि पनि अनुसन्धान भइरहेको छ ।