काठमाडौं – राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेले लामोसमयपछि सामाजिक सञ्जालमा खुलेका छन् । शुक्रबार फेसबुकमा लामिछानेले छिट्टै उज्यालो दिन आउने बताएका छन् ।उनले लेखेका छन् – ‘प्रत्येक सेकेन्डको लागि कृतज्ञ छु, उज्यालो आउनु अघि सँधै अँध्यारै हुन्छ।’
बालिका जबर्जस्तीकरणी मुद्दामा हिरासतमा रहेका क्रिकेटर लामिछाने केही समयअघि २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए। बलात्कारको आरोप लागेपछि निलम्बनमा परेका लामिछानेलाई नेपाली राष्ट्रिय टिममा फर्काउने बारेमा छलफल भइरहेको क्यानका अध्यक्ष चतुर बहादुर चन्दले बताएका थिए ।तर, शुक्रबार नै त्रिकोणात्मक सिरिजका लागि टिमको घोषणा गरिएको छ । सन्दीप टिममा अटाएका छैनन् ।
क्यानले आगामी महिना घरेलु मैदानमा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकपअन्तर्गत त्रिदेशीय एकदिवसीय श्रृंखलाका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।
नेपालले फागुन २ देखि ९ गतेसम्म त्रिवि क्रिकेट मैदानमा नामिबिया र स्कटल्यान्डसँग आईसीसी लिग-२ अन्तर्गत चार खेलको एकदीवसीय श्रृंखला खेल हुनेछ ।
यी हुन् छनोट भएका खेलाडीहरु – कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुलसन झा, करण केसी, सोमपाल कामी, शरद भेषावकर, ललित राजवंसी, विनोद भण्डारी, सागर ढकाल, सन्दीप जोरा, किशोर महत्तो, कमलसिंह ऐरी, सिद्दान्त लोहनी, अर्जुन साउद, अविनाश बोहरा, सूर्य तामाङ, विवेक यादव, भिम सार्की, कुशल मल्ल, मौसम ढकाल, अनिल शाह, विक्रम शोव, भुवन कार्की, अंकीत सुवेदी ।