कांग्रेससँगको सम्बन्ध सुधार्ने रणनीतिमा प्रचण्ड-Sutra News

कांग्रेससँगको सम्बन्ध सुधार्ने रणनीतिमा प्रचण्ड

आइतबार, १५ माघ २०७९

आइतबार, १५ माघ २०७९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आउँदो फागुन २९ गते सकिँदैछ । निर्वाचन आयोगले फागुन २५ गते भित्रै राष्ट्रपति निर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ । राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य मतदाता हुने संवैधानिक व्यवस्था रहेको छ । यसै कारण आयोगले रिक्त स्थानमा उपनिर्वाचन गरेपछि राष्ट्रपति निर्वाचन गर्दैछ ।



आयोग राष्ट्रपति निर्वाचनको तयारीमा लागेसँगै प्रमुख राजनीतिक दलहरू आ आफ्नो तयारीमा लागि सकेका छन् । अहिले राजनीतिक दलहरुको ध्यान नयाँ राष्ट्रपति निर्वाचनमा नै केन्द्रित छ । प्रधानमन्त्री र प्रतिनिधिसभाको सभामुख आलोपालोमा नेतृत्व गर्ने र नयाँ राष्ट्रपति एमालेलाई दिने समझदारी गर्दै एमालेको समर्थनमा गएको १० पुसमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सोही अनुसार सभामुख र उपसभामुखको निर्वाचनमा एमाले र रास्वपाका उम्मेदवार निर्वाचित भइसकेका छन् ।

अब राष्ट्रपति निर्वाचनको लागि सबै सत्ता गठबन्धन लगायत अन्य दलहरु तात्तिरहेको छ । सभामुख र उपसभामुख पराजित भएपनि राष्ट्रपति पद पाउने आशामा नेपाली कांग्रेस रहेको छ । अहिले कांग्रेसले राष्ट्रपति निर्वाचनमा पनि पार्टीको उम्मेदवार उठाउने निर्णय गरिसकेको छ । विश्वासको मत दिने बेलामा प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रपतिमा सघाउने विषयमा सहमति भएको कांग्रेसका नेताहरुले दाबी गर्दै आइरहेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने विश्वासको मत दिएकै आधारमा कुनै पदको बार्गेनिङ खोजिएको हो भने त्यो आश मात्र हुने बताइरहेका छन् । ओलीले एमालेले उठाउने उम्मेदवारलाई सत्ता साझेदार दलको समर्थन हुनुपर्ने र रहने कुरा गर्दै आएका छन् । नयाँ राष्ट्रपति एमालेलाई दिने समझदारी भएको एमालेले बताए पनि प्रधानमन्त्री प्रचण्डले भने परिस्थिति फेरिएको भन्दै दलीय सहमतिको प्रस्तावलाई अघि बढाएका छन्।

प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठकमा राष्ट्रिय सहमतिको प्रस्तावलाई अघि सारेका थिए । पार्टीको स्थायी कमिटी बैठकमा पनि राष्ट्रपति साझा पद भएको भन्दै त्यसमा राष्ट्रिय सहमति हुनुपर्ने कुरा उठाए । अहिले माओवादी राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति बनाउनुपर्छ भन्ने पक्षमा रहेको प्रवक्ता कृष्णबहादुर महराले बताएका छन् । यो सबै हेर्दा माओवादी कांग्रेससँगको सम्बन्ध सुधार्ने रणनीतिमा लागेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट