काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले गृहमन्त्री गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पदमा फर्काउन सुझाव दिएका छन् । एमाले अध्यक्ष ओलीले फोन गरेर लामिछानेलाई गृहमन्त्री पदमा नै फर्काउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई सुझाव दिएको स्रोतको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच फोनमा कुराकानी भएको प्रचण्ड निकट स्रोतले पुष्टि गरेको हो । लामिछानेका बारेमा प्रस्ताव आउनुलाई प्रधानमन्त्री प्रचण्डले अन्यथा नलिएको र गृह मन्त्रालय आफैसँग राख्ने मनस्थितिमा रहेको समेत स्रोतको भनाई छ । यसै बिषयमा छलफलको लागि आज नै प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ ।उनीहरुबीच रिक्त गृहमन्त्रालय र नयाँ मन्त्रीको खोजी, राष्ट्रपति उपराष्ट्रपति चुनावलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
यस्तै आज नै एमाले महासचिव शंकर पोखरेलले लामिछानेमाथिको मुद्दा सामान्य र नियमित प्रकृतिको भएको र राजनीतिक समीकरणमा फेरबदल ल्याउन यस्तो गरिएको समेत बताएका छन् ।
अमेरिकी नागरिकता त्यागेपछि प्रक्रिया पूरा गरी नेपाली नागरिकताको प्रमाणपत्र नलिइएको भन्दै गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेको प्रतिनिधिसभा सदस्य, उपप्रधान तथा गृहमन्त्री पद खारेज गरिदिएको थियो । साथै उनले राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि गुमाएका थिए । लामिछानेले आज नै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर अमेरिकी नागरिकता परित्याग गरेको निस्सा बुझाएर नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् ।