काठमाडौं – पछिल्लो समय अभिनेता शाहरुख खानको फिल्म ‘पठान’ को निकै चर्चा छ । बुधबारदेखि प्रदर्शनमा आएको फिल्म पठानले पहिलो दिनदेखि नै धमाकेदार कमाई गर्दै आइरहेको छ ।
भारतिय मिडियाका अनुसार यस फिल्मले पहिलो दिनमा भारतिय बक्सअफिसमा ५७ करोड भारू कमाएको थियो भने दुई दिनमा करिब १२७ करोड कमाएको थियो । ५ दिनसम्म आइपुग्दा यस फिल्मले २८२ करोड भारतीय रुपैयाँ जम्मा गरिसकेको छ । यस फिल्मले पाँचौ दिन ६२ करोड कमाई गरेको थियो । भारतिय मिडियाका अनुसार यस फिल्मले विश्वभरिबाट ५३५ करोड भारुको आँकडा पार गरेको छ ।
सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्मले राम्रो प्रतिक्रिया पनि पाइरहेको छ । यस फिल्ममा शाहरूख र दीपिका पादुकोणसँगै जोन अब्राहमको पनि मुख्य भूमिका रहेको छ ।
बहुप्रतिक्षित फिल्म ‘पठान’ गत जनवरी २५मा रिलिज भयो । रिलिजसँगै फिल्मले बक्सअफिसमा ब्लकबस्टर व्यापार गरिरहेको छ । यो व्यापारले अभिनेता शाहरुख खान वर्तमान समयमा पनि बलिउडको सुपरस्टारमध्ये एक हुन् भन्ने प्रमाणित गरेको छ । यतिमात्र होइन, अभिनेत्री दीपिका पादुकोणसँगको शाहरुखको सहकार्य बक्सअफिसका लागि सफल र ऐतिहासिक रहेको पनि प्रमाणित गरिसकेको छ ।