प्रचण्ड र ओलीको घानमा रवि, तँ कुटे जस्तो गर्, म फकाए जस्तो गर्छु-Sutra News

प्रचण्ड र ओलीको घानमा रवि, तँ कुटे जस्तो गर्, म फकाए जस्तो गर्छु

मंगलबार, १७ माघ २०७९

मंगलबार, १७ माघ २०७९

नेपाली राजनीति ठ्याक्क देखिने जस्तो कहिलै भएन । पहिले पनि थिएन र अहिले पनि भएको छैन । भर्खरै उदाएका नयाँ पार्टीहरु आए पछि नेपाली राजनीति केहि फरक हुन्छ कि भन्ने धेरैको अपेक्षा थियो तर अपेक्षाहरु निकै चाँडो कम हुदै जादैछन् । अपेक्षा गरिएको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी प्रचण्ड र ओलीको चङ्गुलमा फसेको जस्तो देखिएको छ ।



घटनाक्रमहरुलाई सुरुबाट नै बुझ्दा थप सहज हुन्छ । पश्चिम नेपालको तराईमा उदाएको नागरिक उन्मुक्ती पार्टी तथा मधेशमा उदाएको जनमत पार्टीले राष्ट्रिय राजनीतिमा त्यति ठुलो प्रभाव पारेको देखिएन । निर्वाचनमा यी दुई पार्टीले पाएको मत पनि केहि क्षेत्रहरुबाट मात्रै थिए । तर यहि निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले भने देशव्यापी तरङ्ग ल्याएको हो । उसले कुनै पनि निर्वाचन गतिबिधी नदेखाएको क्षेत्रमा पनि उम्मेदवारहरुले सम्मानजनक मत ल्याए भने प्रत्यक्ष उम्मेदवार नै नभएको, संगठन नै नभएको क्षेत्रमा पनि समानुपातिक तर्फ राम्रो मत ल्यायो । यो सबै हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थितिले पार्ने प्रभाव देशव्यापी र बृहत्तर देखियो ।

यी सबै भएर राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनबाट २० जनालाई सांसद बनाउन सक्यो । चुनावी अभियानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरुले यो पार्टीका नेताहरुले संसदमा अहिलेका नेताहरुलाई तिरिखीरी पार्ने र जनमुखी आवाज उठाउने बताउने गर्थे । तर २० जना सांसद पाए पछि पार्टी सरकारमा जान तयार भयो ।

सरकार निर्माण भएको असाध्यै छोटो समयमा नै नेपालको राजनीति फेरिएको छ । सरकार निर्माण अकस्मात भएको थियो भने त्यसपछि विकशित घटनाक्रमहरु पनि उस्तै किसिमका अकस्मात भइरहेका छन् । फेरिएको राजनीतिक घटनाक्रममा रवि लामिछानेले गृहमन्त्री गुमाएका छन् र उनी पुन: गृहमन्त्री हुनका लागि प्रयासरत छन् तर प्रधानमन्त्री रहेका पुष्पकमल दाहालले उनलाई गृहमन्त्री दिन आनाकानी गरिरहेका छन् । प्रधानमन्त्री दाहालले रविका विरुद्धमा आएको सर्वोच्चको फैसलाको पुर्णपाठ पछि मात्रै गृहमन्त्री बनाउने बारेमा सोच्ने बताएका छन् । तर रास्वपाले आफुले तत्कालै गृहमन्त्री पाउनु पर्ने दाबी गरेको छ । गृहमन्त्री नपाएमा सरकारबाट बाहिरिने सम्मका चेतावनीहरु सार्वजनिक भएका छन् ।

भिडियोमा पनि हेर्नुस्

फरकरुपमा रवि लामिछानेका पक्षमा सत्ता गठबन्धनका सबै भन्दा ठुलो दल एमालेका अध्यक्ष उभिएका छन् । ओलीले प्रचण्डलाई दबाब दिएर रवि लामिछानेलाई गृहमन्त्री बनाउन खोजेको भनेर प्रचण्डले सार्वजनिकरुपमा स्विकारेका छन् । ओली निकट एमालेका नेताहरुले रवि नै गृहमन्त्री हुनु पर्ने भन्ने सार्वजनिक वक्तव्य दिने गरेका छन् । तर पनि रवि लामिछानेलाई गृहमन्त्री बनाउन प्रचण्ड तयार छैनन् ।

रवि लामिछानेलाई गृहमन्त्री नदिदा हदैसम्म निस्किने परिणाम भनेको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकार छोड्नेसम्म हुन सक्ला । तर यसले प्रचण्डको सरकारलाई उस्तो फरक पर्दैन । एमालेको लगायतका दलहरुको समर्थन रहुन्जेल प्रचण्डको सरकार सुरक्षित हुन्छ ।

प्रचण्डको सरकार बन्दै गर्दा पनि रबि लामिछानेको समर्थनको त्यत्रो ठुलो अर्थ थिएन । त्यसो भए प्रचण्डले किन रवि लामिछानेलाई त्यत्रो महत्वपुर्ण मन्त्रालय दिए त ? यो शंकास्पद छ । यदि रवि लामिछानेको पार्टी महत्वपुर्ण सत्ता घटक थियो भने अहिले पनि उस्तै महत्व पाउने थिए । तर पाएनन् ।

यसैले अर्थ लगाउन सकिन्छ, राष्ट्रिय स्वतन्त्र पार्टीको र रविको छवि धुमिल्याउनका लागि मात्रै उनलाई सरकारमा सहभागि गराइयो । मागे अनुसारका मन्त्रालय दिइयो । यो प्रचण्डको मात्रै रणनीति नभए ओलीको पनि रणनीति हो । प्रचण्ड र ओलीले यस्तो रणनीति अपनाइरहेका छन् कि एकजनाले कुटे जस्तो र अर्कोले फकाए जस्तो गरेर रविलाई झुक्याइरहेका छन् । रवि पद देखेर झुक्किरहेका छन् ।

यो सबै भर्खर बन्दै गरेको र अर्को निर्वाचनमा असाध्यै धेरै सम्भावना भएको पार्टीलाई नेपाली राजनीतिबाट नै पाखा लगाउने वा बदनाम गराउने षड्यन्त्र मात्रै हो । रविलाई जसले जसले सरकारमा जान उक्साए, ति सबैको सुझाब र सल्लाह नै शंकास्पद छ भनेर जब रविले बुझ्छन्, तब मात्रै रविले सहि बाटो भेट्टाउँछन् । यसका लागि धेरै समय बाँकी छैन । ढिलो भइसक्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट