राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले अमेरिकी राहदानी र नागरिकता नत्याग्दै नेपाली राहदानी (पासपोर्ट) लिएको तर त्यसको दुरुपयोग नगरेको बताएका छन् ।
आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा लामिछानेले अमेरिकाबाट नेपाल बस्ने गरी फर्केपछि नेपालमा बसोबास गर्दा चाहिने कागजात बनाएको स्पष्ट पारे ।
‘नेपालमा बस्नेका लागि केके चाहिन्छ त्यो लिन थालें, त्यसको सदुपयोग, दुरुपयोग, उपयोग केही पनि गरिनँ, जुन दिन अमेरिकी पासपोर्ट र सिटिजनसिप (नागरिकता) बुझाएपछि मात्र त्यसबाट ट्राभल गरें ।’
१२÷१४ वर्ष बसेको देश अमेरिकाको कागजात च्यातेर हिँड्न नमिल्ने भन्दै उनले त्यहाँ आफ्नो व्यापार, व्यवसाय, दायित्व र ऋण रहेको बताए । तर, स्थायी रूपमा नेपाल फर्किएपछि भने अत्यावश्यक कागजात बनाउन थालेको उनको भनाइ छ । ‘आफ्नो देशका लागि चाहिने पासपोर्ट बनाउँदै गर्छु भनेर सोझो चिताएर काम गरेको हुँ, त्यसको कुनै दुरुपयोग गरेको छैन,’ लामिछानेले भने ।
उनले आफूलाई पासपोर्टको विषय लिएर फसाउन खोजेको भन्दै अघि भने, ‘मैले कसको कहाँ के बिराएँ ? भोलि कानुन संशोधन गरेर पनि सजाय दिइयोस्, म तयार छु, नयाँ कानुन बनाएर सजाय दिए पनि हुन्छ, म आममान्छेका रूपमा मुद्दा लड्छु,’ लामिछानेले भने । राजधानी दैनिक