काठमाडौं । नेनेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि जाँच गर्नुपर्ने बताएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत नेता रावलले रवीले आइतबार पत्रकार सम्मेलन गरेर दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउदै उनीमाथि जाँच गर्नुपर्ने बताएका हुन् । उनले रवीले गरेका काम र बोलेका कुराहरूलाई निष्पक्ष एवं तथ्यसंगत किसिमले परीक्षण गर्नु उचित हुने बताए ।
कुनैपनि दल, नेता र मन्त्रीका काम-कुरा देश, जनता र लोकतन्त्रका लागि उचित या अनुचित के छन् भन्ने सबैको सार्वजनिक चासो र सरोकारको विषय भएको उनले बताएका छन् ।
उनले भनेका छन् – ‘राजनीतिक सिद्धान्त,मूल्य,मर्यादामा विश्वास गर्ने, देश(जनता प्रति इमान्दार, तथ्यबाट सत्य खोज्ने राजनीतिककर्मीले आरोपको तथ्यगत खण्डन गर्छ।आलोचना सुन्छ।सत्य तथ्य अौंल्याउने र गल्तीको आलोचना गर्ने लोकतान्त्रिक मान्यतालाई मान्छ।गालीगलौजमा उत्रिन्न।यस कसीमा रवि लामिछानेको जाँच गरौं। उहाँले निर्वाचन अघी र निर्वाचनको समयमा बोलेका र बाचा गरेका कुराहरू तथा गृहमन्त्री भएपछि, पद जाँदा सांसद नभएपनि गृहमन्त्री हुन र त्यो नपाएपछि गरेका काम र बोलेका कुराहरूलाई निष्पक्ष एवं तथ्यसंगत किसिमले परीक्षण गर्नु उचित हुन्छ।किनकि कुनैपनि दल, नेता र मन्त्रीका काम(कुरा देश, जनता र लोकतन्त्रका लागि उचित या अनुचित के छन् भन्ने सबैको सार्वजनिक चासो र सरोकारको विषय हो।’