काठमाडौं राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्वाचित भएकी छन् । राष्ट्रिय सभाको उपाध्यक्षमा अन्य दलको उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन् ।
सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्याल उपाध्यक्षमा निर्वाचित भएको घोषणा गरेका हुन् ।
आइतबार भएको मनोनयन दर्ता प्रक्रियामा उनको मात्र उम्मेदवारी परेको थियो । सत्तारुढ गठबन्धनले अर्याललाई उठाउँदा कांग्रेसले पनि उनैलाई समर्थन गर्ने निर्णय गरेको थियो । जस कारण अर्यालको प्रतिस्पर्धीको रुपमा कसैको उम्मेदवारी नपरेको हो । अर्यालले लामो समय नेकपा एमालेबाट राजनीति गरेकी थिइन् । उनले २०६९ सालमा नेकपा एमाले छाडेर माओवादी केन्द्रमा प्रबेश गरेकी थिइन् ।