काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले आफ्नो रवी जनताको मान्छे रहेको बताएकी छिन् । मंगलबार सामाजिक सञ्जालमा रवीसँगको तस्बिर शेयर गर्दै उनले यस्तो बताएकी हुन् । आइतबार लामिछाने नेतृत्वको रास्वपा सरकारबाट बाहिरिएको थियो । पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकलेसरकारबाट बाहिरिने निर्णय गरेको थियो ।
सो निर्णयपछि रास्वपाका सबै मन्त्रीले राजिनामा पनि दिएका थिए । पार्टीको बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले नेपालमा नाम चलेका मिडियाका सञ्चालक र सम्पादकहरुलाई देश बनाउने हो भने चितवनमा निर्वाचन लड्न चुनौति दिनुको साथै १२ मिडियाका सञ्चालक र सम्पादकको नाम लिदै कोही चोखो नभएको बताएका थिए । उनको अभिव्यक्तिपछि ठूला मिडियाहरुले खेद्न नछाडेपछि पत्नि निकिताले आफू साथमा रहेको भन्दै रवीलाई सुझाव दिएकी छिन् ।
उनले आम मान्छेको मनमा रवी भएको भन्दै आम संचारले के भन्छ वास्ता नगर्न भनेकी छिन् । उनले भनिन् – ‘मेरो मान्छे, जनताको मान्छे हो। आम(संचारले के भन्छ छोडिदेउ,आम मान्छेको मनमा छौ तिमी। हिजो तिमी जनतालाई दुख्दा कराउथ्यौ यस पटक आफैलाई दुखेर कराएको हौं। मलाई यस्तै हिम्मतिलो तिमी मन पर्छ। निडर,निर्भीक रवि लामिछाने, जनताको रवि लामिछाने, मेरो रवि लामिछाने। भगवानले सधै तिम्रो रक्षा गर्छन्।’