काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बुधबार ओलीको निवास वालकोटमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डसामु ओलीले राष्ट्रपतिको बिषयमा तलमाथि नहुने बताए ।
पूर्वसहमति अनुसार नै एमालेले राष्ट्रपति पाउनुपर्ने ओलीको अडान छ । स्रोतका अनुसार भेटमा प्रभण्डलाई ओलीले भने ‘तपाईँलाई प्रधानमन्त्री बनाउने सहमति भएको बेला नै राष्ट्रपतिको विषय टुंगिसकेको छ। अब फेरि त्यो विषयमा छलफल गर्नुपर्दैन।
ओलीको यो भनाईपछि प्रचण्डले सकेसम्म कांग्रेसको समेत सहमति लिएर राष्ट्रपति र उपराष्ट्रपति चयन गर्ने कुरा गरे । कांग्रेसले समेत राष्ट्रपतिमा दावी गरेकाले यस बिषयमा साझा धारणा बनाउन सत्ता साझेदार दलको उच्चस्तरीय संयन्त्रको बैठकमा छलफल गर्ने र अघि बढ्ने बताए । यस्तै बैठकमा प्रचण्डले गृहमन्त्रीमा आफ्नो पार्टीको दाबी रहेको पनि बताए ।
सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड नेतृत्वको सरकारवाट बाहिरिएको तथा आसन्न राष्ट्रपति निर्वाचनका बिषयमा शंका तथा आशंका बढदै गएको बेला प्रधानमन्त्री प्रचण्ड वालकोट पुगेका थिए ।