काठमाडौं सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सरकारलाई पूर्णता दिने बिषयमा छलफल भएको छ । शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकमा संयन्त्र संयोजकसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी थिए । बैठकमा जनमत र नागरिक उन्मुक्ति पार्टीका नेता अनुपस्थित रहे । बैठकमा राष्ट्रपतिको उम्मेदवारको बिषयमा कुनै छलफल नभएको एक नेताले बताए ।
बैठकमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गरिएको छ । केही दिनअघि सरकारबाट बाहिरिएको रास्वपाले सरकारलाई गरेको समर्थन भने कायम राखेको छ ।
रास्वपा सरकारबाट बाहिरिनु र गठबन्धन घटक नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिँदा बिहीबार एमाले नेतृत्वको सुदूरपश्चिम सरकार ढलेको छ । यही बेला शुक्रबार बसेको संयन्त्रको बैठकमा गठबन्धन दलबीचको आपसी शंका र विवाद समाधानका विषयमा पनि छलफल भएको छ ।