मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थप-Sutra News

मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थप

आइतबार, २९ माघ २०७९

आइतबार, २९ माघ २०७९

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि माघ १५ गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आईतबार अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।



यता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागी निष्काशन गरेको कम्पनीको आईपीओमा फागुन १५ गतेसम्मका लागि म्याद थप गरिएको छ ।

हाइड्रोपावरले माघ १५ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले जारी पुँजी ७६ करोड रुपैयाँको १० पतिशत अर्थात ७ करोड ६० लाख रुपैयाँ बराबरको १०० रुपैयाँ दरका ७ लाख ६० हजार कित्ता सेयर बिक्री खुला गरेको हो ।

जसमध्ये अति प्रभावित क्षेत्र दोलखाको गौरीशंकर गाँउपालिका वडा नं. ५ र ६ का स्थानीय बासिन्दाका लागि ३ लाख ४ हजार कित्ता सेयर छुट्याइएको छ भने प्रभावित क्षेत्र गौरीशंकर गाँउपालिका वडा नं. १, २, ३, ४, ७, ८ र ९ का स्थानीयले ३ लाख ४२ हजार कित्ता र सामान्य प्रभावित क्षेत्र विगु गाउँपालिकाका सम्पूर्ण वडाका स्थानीयले १ लाख १४ हजार कित्ता सेयरमा आवेदन दिन सक्ने कम्पनीले जानाएकोछ।

यता, सर्वसाधारणका लागि भने १५ लाख २० हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ५२ हजार कित्ता सेयरमा नेपाल सरकारको सम्बन्धित् निकायबाट श्रम स्वीकृति प्राप्त गरी बैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।  आईपीओ निष्काशनका लागि गराएको रेटिङ संस्था केयर रेटिङ नेपालले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ । केयर रेटिङ नेपालले यस कम्पनीलाई  ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ ।

मकर जितुमायाले दोलाखाको गौरिशंकर गाउँपालिकामा ६.४ मेगावाट क्षमताको सुरी खोला जलविद्युत आयोजनाको हालको लागत १ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ रहेको छ । ७ मेगावाट क्षमताको माथिल्लो सुरी खोला जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेकोे सुरी खोलाको कुल अनुमानित लागत भने १ अर्ब २९ करोड ५० लाख रुपैयाँ रहेको छ ।

स्थानीयले प्रभु बैंक, लक्ष्मी बैंक र सेन्चुरी बैंकको शाखा र आयोजना स्थलबाट पनि आवेदन दिन सक्नेछन् । यस्तै, बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी काठमाडौं र यसको अनलाइन व्यवस्था बाट पनि आवेदन दिन सकिनेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट