चितवन–२ उपनिर्वाचनमा कांग्रेसले युवा नेता वाग्लेलाई अघि सार्ने चर्चा, रविलाई कति धक्का लाग्ला ?-Sutra News

चितवन–२ उपनिर्वाचनमा कांग्रेसले युवा नेता वाग्लेलाई अघि सार्ने चर्चा, रविलाई कति धक्का लाग्ला ?

मंगलबार, २ फाल्गुन २०७९

मंगलबार, २ फाल्गुन २०७९

काठमाडौं – निर्वाचन आयोगले चितवन–२ मा आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ । आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम आउँदो वैशाख १० गते चितवन २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।



नागरिकतासम्बन्धी मुद्दामा अदालतको फैसलाबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पदमुक्त भएपछि आयोगले रिक्त रहेको पदमा उपनिर्वाचन गर्न लागेको हो । निर्वाचनको मिति सार्वजनिक भएपछि अहिले सो क्षेत्रमा कुन दलमा को उठ्लान् भन्ने चासो बढेको छ । उपनिर्वाचन हुने भएपछि यसअघि प्रतिस्पर्धामा रहेकाले पुनः उम्मेदवार हुने चाहना व्यक्त गरेका छन् ।

यसअघिको निर्वाचनमा सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने निर्वाचित भएका थिए । लामिछाने ४९ हजार तीन सय मत पाउँदै निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई भारी मतले पछि पार्दै विजयी भएका थिए । माओवादी केन्द्र सहितको गठबन्धनको समर्थन रहेको श्रेष्ठले भने १४ हजार नौ सय ८८ मत पाएका थिए ।

यस्तै नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार छ सय ५२ मत पाएका थिए । अदालतले सांसद पद नरहने गरी निर्णय गरेपछि श्रेष्ठ आफू दोस्रो भएकोले सांसद बनाउनुपर्ने भन्दै आयोग पनि पुगेका थिए । अहिले श्रेष्ठ अब हुने निर्वाचनमा उम्मेदवार बनेर आफूले जित्ने दाबी गरिरहेका छन् । तर, कांग्रेसमा अहिले युवा नेताहरुले डा. स्वर्णिम वाग्लेलाई अघि सार्ने तयारी गरिरहेका छन् ।

यसअघि पनि यसै क्षेत्रबाट चुनाव लड्ने वाग्लेको चाहना थियो । त्यति मात्र नभई अहिले यस क्षेत्रमा कांग्रेसबाट चितवनका पूर्वसभापति जीतनारायण श्रेष्ठ र वर्तमान सभापति राजेश्वर खनालको पनि चर्चा छ । तर सभापति शेरबहादुर देउवाले टिकट नदिएपछि उनी उम्मेदवार बन्न पाएका थिएनन् ।

एमालेका पोखरेलले पनि पुनः उम्मेदवार बन्ने चाहना व्यक्त गरिरहेका छन् । रास्वपाबाट पनि फेरि लामिछाने नै उम्मेदवार बन्ने बताइएको छ । एक लाख २४ हजार दुई सय १४ मतदाता रहेको यस क्षेत्रमा फेरि पनि चुनाव रोचक बन्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट