खोटाङ, ४ फागुन । प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङले राष्ट्रिय सहमतिमा राष्ट्रपति निर्वाचित हुने बताएका छन् ।प्रेस सेन्टर खोटाङले दिक्तेलमा बिहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिनिधिसभा सदस्य राईले सबै दलहरु एक ठाउँमा आउनेगरी राष्ट्रिय सहमतिमा राष्ट्रपति निर्वाचित हुने दाबी गरेका हुन् ।
‘देशमा एकदमै राजनीतिक तरलता आइरहेकोछ, के हुन्छ ? कसले के गर्छ ? भन्ने एकातिर छ भने अर्कातिर अलिकति बाह्य हस्तक्षेप भइरहेको अवस्थामा छ,’ राईले भने, ‘देश राजनीतिक संकटमा छ । आर्थिक संकटमा छ । यो हल गर्नको लागि राष्ट्रिय सहमतिको राष्ट्रपति हुन जरुरी छ । सबै दलहरु एक ठाउँमा आए भने कम्तीमा देशलाई अगाडि बढाउन सकिन्छ ।’
देशलाई आर्थिक, राजनीतिक, राष्ट्रियता र स्वाधिनताको हिसावले अगाडि बढाउनका लागि राष्ट्रिय सहमतीको दृष्टिकोण आएको उनले उल्लेख गरे । उनले अहिले मुलुकका लागि सबै दलहरु मिलेर जानुपर्ने आवश्यकता आएको औंल्याएका हुन् ।
‘हिजो भएको सहमति कार्यान्वयन गर्ने भन्ने कुराहरु पनि छन् । तर, जे भए पनि सहमतिमै हुन्छ । अहिले आवश्यकता मुलुकलाई सबै दलहरु मिलेरै जानुपर्नेछ,’ उनले भने, ‘भएका परिवर्तन र क्रान्तिलाई अन्त्या गर्नका लागि एक खालका वा विभिन्न खालका मान्छे लागिरहेका छन् । बाह्य शक्ति वा आन्तरिक शक्ति पनि लागिराख्याछ । यसका लागि राष्ट्रिय सहमतीमा राष्ट्रपति बनाइनुपर्छ भनिएको हो ।’ प्रतिनिधिसभा सदस्य राईले खोटाङको विकास निर्माणसम्बन्धी अधुरो कामलाई पूर्णता दिइने बताएका छन् ।