काडमाडौँ । नाम जस्तै काम पनि एकदमै कुशल ढंगले सम्पन्न गर्न माहिर संचारकर्मी तथा निर्देशक हुन् कुशल श्रेष्ठ । कुशल अहिले चलेका पत्रकार, सिनेमेटोग्राफर तथा निर्देशक हुन् । एउटै ब्यक्ति यति धेरै काम गर्न कसरी सक्ला भन्ने सबैको मनमा जिज्ञासा उठ्न सक्छ तर यो कार्यलाई कुशलता पुर्वक पार लगाई रहेका छन् १ दशकदेखि बेलायतमा बसेर संचारकर्मका साथै म्यूजिक भिडियो निर्देशक कुशलले । स्टुडेन्ट भिसामा बेलायत गएका उनी पछिल्लो समय धेरै खोजीने निर्देशकको सूचिमा पर्छन् ।
नेपाल रहँदा चितवनका कुशलले स्थानीय स्तरका टेलिभिजनदेखि राष्ट्रिय टेलिभिजनमा समेत काम गरेको राम्रो अनुभव बोकेर उनी भविष्य खोज्दै बेलायत हानिए । दर्जनौ म्युजिक भिडियो आफ्नै छायांकन, सम्पादन र निर्देशनमा तयार पारेका कुशलको कमालको अर्को तारिफयोग्य काम भनेको विदेशी भूमिमा पनि हप्तैपिच्छे उनका भिडियोहरु रिलिज हुन्छन् । निर्देशनका अलावा उनको अर्को सबल पाटो भनेको प्राबिधिक पक्ष हो । त्यस्तै उनको अर्को मज्जाको कामको पाटो हो फोटोग्राफी ।
उनले खिचेका फोटोहरु बिदेशी समाचार एजेन्सीहरुले समेत प्रयोग गरेका छन् । सन् २०१४ मा लण्डनमा भएको मिस वल्र्डमा आधिकारीक रुपमा सहभागिता जनाउने उनी पहिलो नेपाली पत्रकार तथा फोटोग्राफर समेत रहेका छन् । त्यति मात्र हैन पछिल्लो पटक उनले मिस वल्र्डको खिचेको फोटो मिस वल्र्डको अफिसियल वेभसाइटमा समेत राखिएको थियो । जसलाई बिदेशी मिडियाहरुले समेत प्रयोग गरेका थिए । उनले त्यतिबेला मिस वल्र्डसंग नेपालका बारेमा केहि प्रश्नहरु सहितको अन्र्तबार्ता समेत लिएका थिए । यस्तो अवसर कुशलले मिस वल्र्डका ओनर दिपेन्द्र गुरुङ मार्फत पाएका थिए ।
सानोमा एकदमै चन्चले स्वभावका कुशल अहिले एकदम शालिन देखिन्छन् । मातृभूमि छाडेको १० बर्ष पछि नेपाल आएका उनले नेपाली माटोको सुगन्ध नै बेग्लै हुने बताउँछन् । हिरो बन्ने सपना बोकेका उनी अहिले पर्दा पछाडीको हिरोका रुपमा स्थापित भएर दर्शकको मन मनमा बसिरहेका छन् । यति धेरै क्षेत्रलाई कसरी समेटेर अघि बढ्नु हुन्छ भन्ने प्रश्नमा उनि भन्छन्– घरको सर्पोट र मेरो काम प्रतिको समर्पण नै यसको मुख्य कुरा । उनी म्युजिक भिडियोका लागि एक्लै फुल प्याकेज हुन् ।
लोकेसन हन्टिङ देखि लिएर निर्देशन, छायाँकन तथा अन्य सबै प्राबिधिक काम एक्लै गर्छन् । उनि भन्छन्– अरुकोमा धेरै क्रु मेम्बर हुन्छ है तर मेरो क्रुमा कहिले काँहि त म र मोडलहरुमात्र हुन्छौँ । हालै २ साताको नेपाल बसाई सकेर कुशल फेरी १० वर्ष अघि जसरी सुन्दर सपना देखेर बेलायत उडेका थिए त्यसरी नै सपनाको देश हानिएका छन् । नेपाल बसाईको क्रममा उनले, काठमाडौँ उपत्यकासहित चितवन लगायतका सुन्दर शहर घुमेको बताए ।