सत्ताको भोका प्रचण्ड: सहमति होइन, स्वार्थका लागि जोसँग जता पनि ठिक्क-Sutra News

सत्ताको भोका प्रचण्ड: सहमति होइन, स्वार्थका लागि जोसँग जता पनि ठिक्क

मंगलबार, ९ फाल्गुन २०७९

मंगलबार, ९ फाल्गुन २०७९

‘पुस १० भन्दा अहिले परिस्थिति फेरिएको छ। गणतन्त्र, संविधानको रक्षा र शान्तिप्रक्रिया टुंगो लगाउने विषय हाम्रा स्वार्थ हुन्। यी स्वार्थमा जोसँग मिल्छ, त्यससँग सहकार्य हुन्छ।’ सरकारको नेतृत्वमा रहेका माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराको पार्टी पदाधिकारीको बैठकपछिको भनाइ हो यो।



एमालेलाई राष्ट्रपति बनाउने समझदारी गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुस १० गते आलोपालोको पहिलो प्रधानमन्त्री नियुक्त भएका थिए। तर पुस २६ गतेसम्म आइपुग्दा विपक्षी बेन्चमा पुगेको नेपाली कांग्रेसले पनि दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिएको थियो। कांग्रेससहित प्रदेश र प्रतिनिधिसभा निर्वाचनअघिका साझेदार दलहरूको पनि समर्थन पाएका दाहालले पूर्ववत् अवस्था परिवर्तन भएको भन्दै राष्ट्रपतिमा राष्ट्रिय सहमतिको प्रस्ताव अघि सारेका थिए। प्रतिनिधिसभाको सभामुख निर्वाचनअघि माघ ३ गते सर्वदलीय बैठक बोलाएर राष्ट्रिय सहमतिको प्रस्तावलाई अघि बढाएका दाहालले पछिल्ला दिनमा कांग्रेस, नेकपा एकीकृत समाजवादी (नेकपा एस) तर्फ हात बढाएका छन् भने एमालेसँग दुरी बढाउँदै लगेका छन्। त्यसले एमालेलाई झस्काइरहेका बेला राष्ट्रपतिका विषयमा निर्णय लिन बोलाइएको बैठकको पूर्वसन्ध्यामा दाहालले कांग्रेस पदाधिकारी र नेकपा एसका अध्यक्षसँग छलफल गरेका थिए। आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस नेताहरूसँग छलफल गरेका दाहालले सोमबार सिंहदरबारमा नेपालसँग कुरा गरेका हुन्।

कांग्रेस नेताहरूलाई राष्ट्रपतिमा सहयोग गर्ने आश्वासन दिएका दाहालले सोमबार दिउँसो नेकपा एसका अध्यक्ष नेपालसँग राष्ट्रपति र उनको चाहनाका विषयमा छलफल गरेका छन्। त्यसलगत्तै पार्टी मुख्यालय पेरिस डाँडामा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री नियुक्त हुँदा अवस्था फेरिएको निष्कर्षसहित संविधान र शान्तिका पक्षधरसँग मिलेर राष्ट्रपति निर्वाचनमा जाने निष्कर्ष निकालेका छन्। राष्ट्रपतिमा राष्ट्रिय सहमतिका लागि अन्तिम समयसम्म पहल लिने भन्दै अन्तिम निर्णय लिने अधिकार दाहाललाई दिएको छ। दल र व्यक्तिका विषयमा केही उल्लेख नगरेका महराले राष्ट्रिय सहमतिका लागि अन्तिम समयसम्म प्रयास गर्ने जनाए। ‘त्यस (राष्ट्रिय सहमति) का लागि उम्मेदवारी दिने बेलासम्म कोसिस हुन्छ,’ महराले सञ्चारकर्मीसँग भने, ‘हाम्रो स्वार्थ कोसँग मिल्छ, हेर्दै जानुहोला।’

तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुईपटक प्रतिनिधिसभा विघटन गरेपछि नेपाली कांग्रेस नेतृत्वमा पाँच राजनीतिक दलले संविधानको रक्षाका लागि भन्दै नयाँ गठबन्धन निर्माण गरेका थिए। कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा अघि सार्दै उनकै नेतृत्वमा स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा माओवादीसहितका दल गएका थिए। महराको पछिल्लो अभिव्यक्तिले कांग्रेस नेतृत्वमा रहेको गठबन्धनलाई फेरि निरन्तरता दिने माओवादी निष्कर्ष भएको कांग्रेस, नेकपा एससहितका नेताहरूको बुझाइ छ। तर माओवादीले राष्ट्रपतिको उम्मेदवारी मनोनयनको दिन फागुन १३ गते मात्र स्पष्ट धारणा बाहिर ल्याउने निकट एक नेताले बताए। सत्ता साझेदार एमालेसँगसमेत समझदारीमा नयाँ राष्ट्रपतिमा नाम प्रस्तावको तयारीमा दाहाल छन्। दाहालको चाहना एमाले मात्र होइन, कांग्रेस नेतालाई पनि राष्ट्रपति बनाउने नभएको भन्दै निकट स्रोतले भन्यो, ‘नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउने उहाँको चाहना देखिन्छ।’

सको पनि समर्थन रहने दाहालको बुझाइ रहेको निकट स्रोतको दाबी छ। सोहीअनुसार सोमबार नेपालसँग दाहालले कुरा गरेको दाबी गर्दै स्रोतले भन्यो, ‘कांग्रेस सभापति पनि नेपालको पक्षमा सकारात्मक हुनुहुन्छ।’ देउवाले अन्य पार्टीका नेताहरूसँगको भेटमा नेकपा एसका अध्यक्ष नेपालले चाहना राखेको बताउँदै आएका छन्। कांग्रेस नेताहरूसँगको छलफलका क्रममा पनि दाहालले नेपालले इच्छा राखे के गर्ने भन्ने चासो राख्ने गरेको स्रोतको दाबी छ।

दाहाल र नेपालबीच सोमबार भएको भेटमा नेपाली कांग्रेससमेतको समर्थन भए राष्ट्रपतिमा जान आफू तयार रहेको प्रधानमन्त्रीलाई आश्वासन दिएका छन्। पार्टी निर्माण गर्दै अझै केही समय सक्रिय राजनीति गर्ने आफ्नो चाहना रहेको बताउँदै नेपालले ‘कांग्रेससमेतको समर्थन रहने हो भने ठिकै छ, तपाईं पहल गर्नुहोस्’ भनेको स्रोतको दाबी छ। नेपाल राष्ट्रपति बन्दा उनले नेतृत्व गरेको नेकपा एसको अस्तित्व समाप्त हुने र त्यहाँ भएका नेता तथा कार्यकर्ता एमालेमै फिर्ता हुने सम्भावना बढी भएकाले ओलीको पनि समर्थन रहन सक्ने माओवादीका केही नेताको विश्लेषण छ। तर कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहाल दुवैको चासो पनि राष्ट्रपतिमा नेपाल गएपछि उनको नेतृत्वको पार्टीको अस्तित्व के हुन्छ भन्ने रहेको छ। नेपाल नेतृत्वको पार्टी एमालेमा विलय हुने अवस्थामा सरकार गठन र विघटनमा सोही पार्टी निर्णायक बन्ने अवस्था आउन सक्नेमा दुवै नेताहरूको चासो र चिन्ता रहेको निकटहरूको बुझाइ छ।

दाहालसँगको भेटमा राष्ट्रपतिमा राष्ट्रिय सहमतिको प्रयास गर्न सुझाएको जानकारी दिँदै नेपालले सञ्चारकर्मीसँग भने, ‘हाम्रो समझदारी बलियो होस् र लामो यात्रामा जाऔं भनेको छु।’ राष्ट्रपतिमा तपाईंको नाम पनि चर्चामा छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेपालले चर्चामा धेरै जना रहेको जनाउँदै चर्चामा ल्याउने र टुंगोमा पु¥याउने फरक कुरा भएको टिप्पणी गरे। नेकपा एसका नेताहरूले नेपाललाई राष्ट्रपति बन्न विभिन्न कोणबाट कुरा आएको बताउँदै आएका छन्। नेता नेपालले पार्टी निर्माणमै लाग्ने बताउँदै आएको जनाउँदै निकट स्रोतले भन्यो, ‘पार्टी स्थापनाको छोटो समयमै राष्ट्रपतिका लागि दलहरूबाट आएको प्रस्तावलाई स्वीकार गर्नुपर्ने मत पनि पार्टीमा छ।’

अध्यक्ष नेपालप्रति कांग्रेस सभापतिसहित नेताहरू लचिलो रहे पनि सिंगो पार्टी अरूलाई समर्थन गर्नेमा एकमत हुने अवस्था नभएको पनि निकटहरूको बुझाइ छ। कांग्रेस नेताहरूले सार्वजनिक रूपमा पार्टीले अघि सारेको व्यक्ति राष्ट्रपति बन्ने बताउँदै आएको भन्दै नेकपा एसका एक नेताले भने, ‘हुने नै अवस्था आयो भने त्यहीअनुसार सोचौंला।’

राष्ट्रपतिमा कांग्रेसले चुनाव जितेर लिने दाबी गर्दै कांग्रेस नेता शेखर कोइरालाले सोमबार सिन्धुलीमा आयोजित कार्यक्रममा भने, ‘नेपाली कांग्रेसको उम्मेदवार हुन्छ र जित्छ। यसमा म ढुक्क छु। नेपाली कांग्रेसले पाउने होइन, लिने हो।’ कांग्रेसले राष्ट्रपतिमा नेता रामचन्द्र पौडेललाई अघि सार्ने निश्चितप्रायः छ। यद्यपि नेता कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठसहितका नेताले आकांक्षा राख्दै आएका छन्। नागरिक दैनिकमा खबर छ

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट