काठमाडौं । दूधको मूल्य बढ्ने भएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले महँगी बढेको भन्दै दूधको मूल्य पनि बढाउनुपर्ने माग गरेको छ । बोर्डले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा गरेको छ ।
ब्याजदर, इन्धनमा भएको मूल्यवृद्धि र दाना चोकरको मूल्यका कारण किसानहरुलाई घाटा भइरहेको भन्दै दूधको मूल्य बढाउने तयारी गरिएको हो । बोर्डका निमित्त कार्यकारी निर्देशक बालक चौधरीले किसान बचाउनकै लागि दूधको मूल्य बढाउनुपर्ने बताए ।
गएको फागुन २ गते बोर्डले मन्त्रालयलाई मूल्य विश्लेषण प्रतिवेदन बुझाएको थियो । सोही अनुसार मूल्य बढाउने प्रतिवेदनबारे मन्त्रालयले थप छलफल गरेर मन्त्रिपरिषद्मा मूल्य सिफारिस गर्ने बताइएको छ ।