काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एमाले नेतृत्वको गठबन्धन अस्वभाविक र अपवित्र नै रहेको आरोप लगाएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा थापाले यस्तो बताएका हुन् ।
उनले २०६३ सालको जनआन्दोलन र त्यसपछि भएका हरेक गतिविधिले देशमा शान्ति एवं समृद्धिको अनुभव नभएकोले मुलुकको प्रणालीको पुनर्विचार र विकल्पको बारेमा बहस गर्नुपर्ने बताए । उनले निर्वाचन हुनुभन्दा पहिलाको गठबन्धनलाई जनताले म्यान्डेड दिएको भएपनि त्यो गठबन्धन चुनाव लगत्तै भत्किएर सत्ता स्वार्थमा नयाँ गठबन्धन बनेको बताए ।
कांग्रेस नेतृत्वको गठबन्धन पनि अस्वभाविक र अपवित्र भएको भन्दै उनले नेकपा एमाले नेतृत्वको गठबन्धनमा दुई तर्फ बिचार फर्केका दलहरू भएकोले यो गठबन्धन पनि अस्वभाविक र अपवित्र नै रहेको बताए । उनले अबको राष्ट्रपति हुने ब्यक्तिले राजनीतिक स्वार्थ अनुसारका कामहरू गर्न नहुने भन्दै राष्ट्रपतिले स्वार्थ देखाएकोले दलहरूबीचमा खिचातानी बढेको बताए ।
उनले देशको अर्थतन्त्र निकै कमजोर बन्दै गइरहेको, तरलता अभाव तथा महँगी दैनिक बढेपनि सरकार सत्ता टिकाउनमा व्यस्त रहेको बताए ।