काठमाडौं, ११ फागुन । काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा बस्दै आएका ८१ वर्षीय सर्वजीत सिंह तामाङले आफ्नो घर छोरीले बेचिदिँदा अन्यायमा परेको भन्दै न्यायका लागि प्रधानमन्त्रीलाई सम्बाेधन गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा निवेदन दिएका छन् ।
दुई श्रीमतीबाट तीन छोरी रहेका र तीमध्ये कान्छी छोरी कुसुम तामाङले आफ्नो घर बेचिदिँदा अहिले मर्ने कि न्यायका लागि गुहार्नेबाहेक अरु बाटो नभएको भन्दै सर्वजीतले न्यायको याचना गरेका छन् ।
विश्वास गरेर घर छोरी कुसुमको नाममा राखिदिएको र पछि उही छोरीले आफूलाई जानकारी नदिई घर बेचिदिँदा अन्यायमा परेको उनको गुनासो छ ।
यस्तो छ उनको निवेदनको पूर्णपाठ
श्री सम्माननीय प्रधानमन्त्रीज्यू
प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालय सिंहदरबार, काठमाडौं
विषय : न्यायको याचना गरिएको बारे ।
महोदय,
म निवेदक सर्वजीत सिंह तामाङ ८१ वर्षीय ज्येष्ठ नागरिक हुँ । म अन्यायमा परेकोले तपसील बमोजिमको व्यहोरा खुलाउँदै न्यायका लागि यो पत्र लेख्दै गुहार मागेको छु ।
१. मेरा दुई श्रीमतिमध्ये जेठी श्रीमतिबाट एक छोरी र कान्छीबाट दुई छोरी गरेर तीन जना छोरी छन् । जेठी श्रीमतिको एक वर्षअघि निधन भएको हो । कान्छी श्रीमति पहिले नैं पोइल गएकी थिइन् । छोरीहरू आआफ्नो बाटो लागि सकेको कारण म ज्येष्ठ नागरिक अहिले एकल रुपमा काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा बस्दै आएको छु ।
२. मेरा तीन छोरीमध्ये जेठीबाट उर्मिला तामाङ (सबैभन्दा जेठी) र कान्छीबाट उर्गेन तामाङ र कुसुम तामाङ (कान्छी) छोरी छन् । कुसुम लामा प्रभु ग्रुपअन्तर्गतको उच्च ओहदामा कार्यरत छन् । बौद्धमा बस्ने जेठी छोरी उर्मिलाले कहिलेकाँही आएर मेरो हेरविचार गर्ने गर्दछिन्।
३. मेरो जीवनको महत्वपूर्ण समय थाइ एयरवेजको सेवामा बित्यो । थाइ एयरवेजमा भएको कमाइले मैले केही सम्पत्ति जोडेको थिएँ । काठमाडौंको गैरीधारामा जोडेको घरजग्गासमेत बेचबिखन गरी मैले काठमाडौं ४ धुम्वाराहीस्थित घर बनाएको थिएँ । त्यो घर मैले प्रभु बैंकबाट ऋण लिएर बनाएँ । सो ऋण मैले चुक्तासमेत गरेँ ।
४. जीवनमा पारिवारिक खुसी नै सबैभन्दा ठूलो सन्तुष्टि हो । त्यही ठानेर मैले १० वर्षअघि सो घर कान्छी छोरी कुसुम लामा तामाङको नाममा राखेको थिए । किसिमले सहयोग गरेँ । जागिरमा रहँदा युरोप घुमाउन लगें । एउटा विश्वासले मैले कुसुमको नाममा घर राखिदिएँ । तर मेरो जीवनमा तिनै छोरीले घात गरिन् । मलाई थाहै नदिइ सो घरजग्गा बेचिदिइन् । पाँच करोड ६० लाख रुपैयाँमा म बसिरहेको घर एकलौटी रुपमा बेचिदिइन् । मसँग त्यो घरबाहेक कुनै अचल सम्पत्ति छैन । सोही घरको पाचौं तलामा म रहँदै आएकोमा सामान्य केही फर्निचर, लत्ताकपडा र किचेनका सामग्रीबाहेक म सँग केही छैन । सो घरको सुरुको दुई वर्षको भाडा मैले पाएको थिएँ । करिव ८ वर्षदेखिको करिव एक करोड जति घर भाडा मैले पाएको छैन । यतिबेला म घर न घाटको जस्तै भएको छु । आफैले दुख गरेर छोरीको नाममा किनेर राखेके घर अमानविय तरिकाले सडकमै पुग्ने गरी बेचिदिँदा म शारिरिक रुपमा कमजोर र मानसिक रुपमा पनि विछिप्त भएको छु ।
५. आफ्नै सन्तानबारे यी शब्द लेखिरहँदा मलाई अत्यन्तै पीडा महशुस भइरहेको छ । तर नियति यही हो । समय र नियतिले मलाई यो उमेरमा करिब आधा दर्जन मुद्दाको बोझमा जकेडेको छ । म कानुन जान्दिनँ ।
यहाँ मैले भनेको सबै हुनैपर्छ भन्ने छैन । तर मैले न्याय पाउनु पर्छ । मैले जोडेको घर मेरो सहमति बिना बेचबिखन हुन सक्दैन । मैले बनाएको घरको भाडा मैले पाउनुपर्छ ।
६. यतिबेला मेरो घरमा अनधिकृत मानिसहरू आउने तथा थर्काउने गरिरहेका छन् । महानगरिय प्रहरी बृत्त महाराजगञ्जको क्षेत्राधिकारमा पर्ने मेरो घरमा गुण्डाहरु प्रयोग गर्ने, अनधिकृत रूपमा जोकोहीलाई भाडालगाउने जस्ता क्रियाकलाप भइरहेका छन् । म बुढोलाई मानसिक तनाव दिने काम भइरहेको छ । यस्तो अवस्थामा मर्ने कि न्यायका लागि गुहार्नेबाहेक मसँग अरू कुनै बाटो भएन । कानसमेत कम सुन्ने म बुढो न्यायको भिख माग्दै यो पत्र लेख्दै छु । कृपया न्याय गरी म बृद्धको उद्दार गरिदिनु हुनेमा आशावादी छु ।
सर्वजीत सिंह तामाङ
ज्येष्ठ नागरिक (८१ वर्ष)
काठमाडौं ४, धुम्वाराही (पिपलबोट नजिक)