काठमाडौं – पछिल्लो समय राष्ट्रपति निर्वाचनको चर्चा बढ्दै गइरहेको छ । यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदवार उठाएको छ । यस निर्वाचनमा ८ राजनैतिक दलको समर्थनमा कांग्रेसले पूर्व सभामुख रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको छ । यस्तै पौडेलले आफूलाई विजयी बनाउन सबै मतदाताहरूलाई मत माग्दै पत्र पठाएका छन् ।
पौडेलले ‘संविधानको सीमाभित्र रहेर देशको सेवा गर्न चाहेको’ बताउँदै मत मागेका छन् । यस निर्वाचनकमा राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेश सभाका कूल ८८२ मतदाता रहनेछन् । यसअघि कांग्रेसले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवारलाई विजयी गराउन नेकपा एमालेसँग सहयोग गर्न आग्रह गर्दै पत्र पठाएको थियो ।
मंगलबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले काँग्रेसका सभापति शेरबहादुर देउवाद्वारा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लेखेको पत्र हस्तान्तरण गरेका थिए। एमालेको तर्फबाट उम्मेदवार पूर्व सभामुख सुवास चन्द्र नेम्वाङ रहेका छन् ।