काठमाडौं । राष्ट्रपति पदका उम्मेदवार एमाले नेता सुवास नेम्वाङ र नेकपा एकीकृत समाजावादी का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बिहिबार अधयक्ष नेपाललाई भेट गर्न नेम्वाङसहित एमाले नेताहरु विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङलगायत एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पुगेका हुन् ।
भेटवार्तामा एसका अध्यक्ष नेपाल, महासचिव बेदुराम भुसालसहितका नेताहरु सहभागी थिए । उक्त भेटवार्तामा नेम्वाङले एकीकृत समाजवादीका नेतासँग मत मागेका थिए ।
अध्यक्ष नेपालले मत माग्न आएकोमा धन्यवाद ज्ञापन गरेका थिए । भेटपछि एमालेका पृथ्वीसुब्बा गुरुङले आफूहरुले नेम्वाङलाई राष्ट्रपतिमा मतदान गर्न आग्रह गरेको र दुई पार्टीबीचको एकताको अभियानलाई अघि बढाउने कुरामा पनि सहमति भएको बताए ।
राष्ट्रपति निर्वाचनअन्तर्गत यही फागुन २५ गते मतदान हुँदै छ । राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेलले पनि उम्मेदवारी दिएका छन् ।