छिट्टै नै हाइड्रोजन गाडी चढ्छु- प्रचण्ड-Sutra News

छिट्टै नै हाइड्रोजन गाडी चढ्छु- प्रचण्ड

मंगलबार, २३ फाल्गुन २०७९

मंगलबार, २३ फाल्गुन २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू हाइड्रोजन गाडी चढ्ने तयारीमा रहेको बताएका छन् ।



मंगलबार सोलुखोला दूधकोशी जलविद्युत आयोजनाको काठमाडौंबाट उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू छिट्टै नै हाइड्रोजन गाडी चढ्ने बताएका हुन् ।

‘म प्रधानमन्त्री बन्दै गर्दा विद्युत प्राधिकरणका एमडी कुलमानजीले भन्नुभयो, तपाईले प्रधानमन्त्रीको रुपमा डिजेल र पेट्रोलको गाडी होइन, हाइड्रोजन गाडी चढ्नुपर्‍यो भन्नुभयो । मैले प्रधानमन्त्री कार्यालयमा छलफल गरेको छु, म हाइड्रोजन गाडी चढ्ने तयारीमा छु’ उनले भने ।

त्यस्तै हालैमात्र नेपाल र भारतका ऊर्जा सचिवहरूको संयुक्त बैठकले नेपालको बिजुली निर्यातका लागि थप मार्ग प्रशस्त गरेको सन्दर्भ जोड्दै मुलुकको व्यापार घाटा घटाउनका लागि ऊर्जाको निकासी नै उपयुक्त माध्यम बन्ने उनले बताए ।

आर्थिक विकास र व्यापार घाटा घटाउनका लागि उपयुक्त माध्यमका रूपमा रहेको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सरकार निजी क्षेत्रसँग मिलेर काम गर्ने र जस्तोसुकै समस्या समाधान गर्ने प्रतिबद्धता जनाए ।

प्रधानमन्त्रीले ऐतिहासिक रेकर्ड बनाएकामा साहस ऊर्जालाई थप आयोजना निर्माणका लागि आग्रह गरे । उनले साहस ऊर्जाको प्रयासले आगामी दिनमा निजी क्षेत्रलाई थप आयोजना निर्माणका लागि उच्च मनोबल प्रदान गरेको तथा नयाँ आयाम खडा गरेको बताए ।

प्रकृतिले दिएको अपार जलस्रोतको उपयोग गरेर मात्रै मुलुकलाई आर्थिक विकास र समृद्धिको यात्रामा अगाडि लैजान सकिने प्रधानमन्त्रीको भनाइ छ । आफू पहिलो पटक प्रधानमन्त्री बन्दा ठूला र रणनीतिक महत्त्वका परियोजना सुरु गर्नुपर्छ भन्ने घोषणा गरेको स्मरण गर्दै उनले क्रमशः ती आयोजना अगाडि बढेको र त्यसले मुलुकको आकांक्षालाई पूरा गर्ने बताए ।

दोस्रो पटक प्रधानमन्त्री बन्दा आफूले व्यावहारिक तथा प्राविधिकरूपमा लोडसेडिङको अन्त्य गरेको प्रधानमन्त्रीले पुनः स्मरण गरे । सबै तह र तप्काबाट दृढ इच्छाशक्तिका साथ देश बनाउने प्रतिबद्धता व्यक्त गरियो भने त्यसबाट सकारात्मक प्रभाव पर्ने, व्यापार घाटा घटाउनका लागि पनि बिजुली बिक्री नै उपयुक्त माध्यम बन्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट