प्रधानमन्त्री बनेर देशको नेतृत्व गर्ने सपना देखिरहेका नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल अन्तत राष्ट्रपतिमा थन्किएका छन् ।
राष्ट्रपति पदका लागि बिहीबार भएको निर्वाचनमा एमाले उम्मेदवार सुवास नेम्वाङलाई पराजित गर्दै पौडेल निर्वाचित भए ।
३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका पौडेललाई संघीय संसदका २१४ सांसद र प्रदेशसभाका ३५२ सदस्यले मत दिएका हुन् ।
तनहुँबाट गत चुनावमा सांसदमा निर्वाचित भएपछि धेरैजसो भाषण तथा सभाहरुमा उनले भनिरहन्थे, ‘अब देशको प्रधानमन्त्री म बन्छु, सभामुख र मन्त्रीसमेत भइसकेको मान्छे हुँ अब म पुग्ने भनेको प्रधानमन्त्रीमै हो ।’
प्रधानमन्त्री बन्ने विषयलाई उनले पार्टीभित्रै छलफल समेत चलाइसकेका थिए । काँग्रेसको संसदीय दलको नेता बन्ने बेलामा पनि उनले आफूलाई अगाडी टक्र्याएका थिए ।
राजनीतिमा उनी प्रधानमन्त्री बन्न प्रयास गरेतापनि उनी सफल हुन सकेका थिएनन् । उनले पालो कुरेर बसिरहेका थिए । उनलाई १७ पटकसम्मको असफल उम्मेदवार भनेर पनि टिप्पणी गरेका हुन्छन् ।
अन्त्यमा धेरै भाग खोज्दा हातमा आएको प्रधानमन्त्री पद फुत्काएका देउवाले उनलाई राष्ट्रपतिको उम्मेदवार उठाए । एमालेलाई धोका दिएर बसेको माओवादीले पनि काँग्रेसलाई नै सहयोग गर्ने निर्णय भएपछि पौडेल राष्ट्रपतिको कुर्सीमा बस्न पाए ।
एकपटक सभामुख, ५ पटक मन्त्री र ६ पटक सांसद रहेका उनी प्रधानमन्त्रीमा लगाता १७ पटकसम्म संसदमा एमाले उम्मेदवार झलनाथ खनालसँग पराजित भएका थिए । तर, बिहीबार १० दलको समर्थनमा उनी देशकै प्रमुख पदमा पुगेका छन् ।
२०१६ सालमा हिमालयन छात्र संघको सदस्य बनेका उनी २०३४ सालमा तनहुँबाट जिल्ला सदस्य भएर कांग्रेसबाट सक्रिय राजनीतिमा होमिए । यसअघि उनी २०२७ सालमा नेविसंघको संस्थापक सदस्य रहेका हुन् ।
तत्कालीन राजा महेन्द्र शाहले २०१७ सालमा संसद् भङ्ग गरेपछि भएको आन्दोलनमा उनी सहभागी भएका पौडेल तत्कालीन प्रधानमन्त्री वीपी कोइरालालाई पक्राउ गरेकोमा विरोधमा उत्रिएका नेता हुन् ।
२०४३ सालमा कांग्रेसको केन्द्रीय सदस्य एवम् प्रचार विभाग प्रमुख भएका पौडेल त्यसपछि निरन्तर कांग्रेसको केन्द्रीय राजनीतिमा छन् । २०६२ सालमा केन्द्रीय महामन्त्री, २०६४ सालमा केन्द्रीय उपसभापति, २०७२ सालमा कार्यवहाक सभापतिसमेत सम्हालिसकेको अनुभव पौडेलसँग छ ।
कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाले पौडेलको पक्षमा मतदान गरेका थिए ।
एमाले उम्मेदवार नेम्वाङले १५ हजार ५१८ मत भार पाए । उनलाई संघीय संसदका ९६ जना सांसद र प्रदेशसभाका १६२ सदस्यले मत दिएका हुन् ।