काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले लिएको नीतिहरुका कारण मुलुकको आर्थिक संकट टरेको बताएका छन् । आइतबार काठमाडौंमा नेपाल निर्माण व्यवसायी महासंघको २४ औं साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
आर्थिक समस्या सुधार हुदै आएको भन्दै उनले वैदेशिक मुद्रा सञ्चितिमा ह्रास आउँदा मुलुक संकटमा पर्ने खतरा देखिएपनि बाह्य क्षेत्र सन्तुलनमा राख्न सरकारले लिएका नीति सफल भएका कारण आर्थिक संकट टरेको बताए। उनले अहिले १० महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्ने सञ्चिति रहेकाले अर्थतन्त्र संकटबाट क्रमशः सुधारतर्फ अग्रसर भइरहेको बताए ।
निजी क्षेत्रसँगको सहकार्यमा अर्थतन्त्रमा देखिएका समस्याहरू समाधान गर्दै चुनौतीलाई अवसरमा बदल्न सरकार संकल्पवद्ध रहेको उनले बताउ । उनले कोभिड महामारी, बाह्य युद्ध र आपूर्ति व्यवस्थामा परेको चाप जस्ता कारण केही निर्माण सामग्रीहरूको मूल्य बढेकाले निर्माण व्यवसायीको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न सरकार गम्भीर रहेको बताउ ।