काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट राष्ट्रिय सहमति नभइ देशलाई द्वन्द्वतर्फ र सम्बन्धलाई कटुतापूर्ण र शत्रुतापूर्ण दिशातर्फ लग्ने प्रयास भइरहेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विश्वासको मतमाथिको प्रस्तावको छलफलमा पौडेलले यस्तो बतार्एका हुन् ।
उनले प्रधानमन्त्री बन्नैका लागि प्रचण्ड बालकोट गएको र पुष १० गते सहमति भएको भन्दै पुरानो गठबन्धनमा फर्किनुपर्ने कारण इतिहासले खोजिरहने बताए ।
उनले प्रधानमन्त्री बन्न एमाले लगायत राजनीतिक दल चाहिने तर २ महिना पनि नपुग्दै, प्रधानमन्त्री पाउनेवित्तिकै दूरीको सम्बन्ध कायम गर्दै किन पुरानै गठबन्धनतिर फर्किनुपर्यो भन्दै प्रश्न गरे। उनले प्रधानमन्त्री प्रचण्डले पटक पटक राष्ट्रिय सहमति भनेपनि एमालेबिनाको राष्ट्रिय सहमति हुन नसक्ने बताए ।
एमाले बिनाको राष्ट्रिय सहमतिको कुरा गरेको भए त्यसको सख्त विरोधमा एमाले रहेको भन्दै उनले जनता र मुलुकले त्यस्तो राष्ट्रिय सहमति नचाहेको जिकिर गरे ।