दुवै मिर्गौला फेल भएर आमाको मृत्यु भएपछि चार बालबालिकाको बिचल्ली -Sutra News

दुवै मिर्गौला फेल भएर आमाको मृत्यु भएपछि चार बालबालिकाको बिचल्ली 

बिहिबार, ९ चैत्र २०७९

बिहिबार, ९ चैत्र २०७९

मुगु ९ चैत । निन्याउरो मलिन अनुहार, रुखको हाँगामा फैलिएका पात जस्तै कपाल । न घर, न बार । पानी चुहिने छानो भएको घरमा  न खाना छ, न नाना नै । न ओत लाग्ने ठाउँ,  न ओढ्ने–ओछ्याउने कपडा नै ।  यो दृश्य हो, मुगुको छायाँनाथ रारा नगरपालिका– १३ रुघा गाउँको ।  दुवै मिर्गौला फेल भएर लक्ष्मी रावतको मृत्यु भएपछि उनको परिवार बिचल्ली मा परेको छ । सात महिनाकै बालकले आमा गुमाएको मात्र छैन,  जना बालबालिका पनि बिचल्लीमा परेका छन् ।



गत माघको अन्तिम तिर आमा लक्ष्मी रावतको दुवै मिर्गौला फेल भएर मृत्यु भएपछि उनका दुई छोरा र दुई छोरी बिचल्लीमा परेका हुन्  । आमाको मृत्युपछि दुधे बालकको अवस्थाले जोकोहीको मन भक्कानिएर आउँछ ।

आमा लक्ष्मी रावतको मृत्यु भएपछि ७ महिने दुधे बालकसहित अन्य तीनजना बालबालिका सहाराको पर्खाइमा छन् । लक्ष्मीकी आमा बाँचकला बोहोराको घरमा बालबालिकाले आश्रय लिँदै आएका महिला स्वास्थ्य स्वयंसेविका हरिकन्या नेपालीले जानकारी दिइन् । उनका अनुसार सात महिना र ८ वर्षका छोरा र ६ र ४ वर्षकी छोरी छन् ।

खेतपातीले ६ महिनासमेत खान नपुग्ने भएपछि लक्ष्मीका पति २७ वर्षीय  सुरत रावत मजदुरी गर्छन् । ती बालबालिकाको सहारा भनेका बुबा  सुरत र नाताले हजुर आमा पर्ने बाँचकला हुन् । तर, सुरत मजदुरी गर्न जाने भएकाले सबै जिम्मेवारी बाँचकलाकै काँधमा आइपरेको छ ।

‘अब त यी टुहुराहरुको पालनपोषण कसले गर्देला ? हामी बुढा बुढी डाँडामाथिका घाम भइसक्यौँ,’ ६० वर्षीया बाँचकलाले भनिन् । लक्ष्मीको मृत्युपछि सात महिने बालक बिरामी परेकाले घरमै थला परेको उनले बताइन् ।

आर्थिक अवस्था कमजोर भएकाले बालबालिकाको पालनपोषण गर्न छिमेकहरुले संकलन गरेर दिएको ३५ हजार रुपैयाँले खर्च गरेको बाँचकलाले बताइन् । तर, उक्त रकम पनि सकिएकाले अब कसरी बालबालिकाको पालनपोषण र शिक्षादीक्षा दिने भन्नेमा बाँचकला र उनका ज्वाइँ तथा लक्ष्मीका पति सुरत चिन्तित् छन् ।

घरमा खान अन्नमात्रको अभाव होइन, बासका लागि सुरक्षित छानासहितको घरसमेत नरहेकाले बालबालिकाको स्वास्थ्यमा समेत असर गर्न थालेको स्थानीय बताउँछन् । राज्यले शिक्षा, स्वास्थ्य, गाँसबास नभएकालाई हेरविचार गर्नुपर्नेमा वडा र नगरपालिकाले अहिलेसम्म चासो नदिएको हजुुरआमा बाँचकलाको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट