काठमाडौं – सत्ता गठबन्धनमा मन्त्रालयको भागबन्डामा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् विस्तार गर्न ढिलो भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने भनिएपनि मन्त्रालयको भागबन्डाका कारण छिट्टै मन्त्रिपरिषद् विस्तार हुन सक्ने सम्भावना कम देखिएको छ ।
मन्त्रालयको भागबन्डा टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक दिनदिनै बसिरहेको छ । मंगलबार बसेको गठबन्धनको बैठक पनि विनानिष्कर्ष टुङ्गिएको थियो । हिजोको बैठकमा प्रधानमन्त्री प्रचण्डले बैठकमा १९ बुँदा समेटिएको सरकारको न्यूनतम कार्यक्रमबारेको मस्यौदा पेस गरेका थिए ।
आजको बैठकमा सरकारको साझा न्यूनतम कार्यक्रमलाई अन्तिम रूप दिने तयारी पनि गरिएको छ । अहिले शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसले आठ मन्त्रालयको दाबी गरिरहेको छ भने यसमा सहमति भएको पनि बताइएको छ । यता, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले तीनवटा मन्त्रालयमा दाबी गरेको छ ।
अध्यक्ष नेपाल र प्रधानमन्त्री प्रचण्डबीचको छलफलमा नेपालले ३ वटा मन्त्रालय दाबी गरेको बताइएको छ । तर स बिषयमा प्रधानमन्त्री प्रचण्डले केही निर्णय नदिएको स्रोतको भनाई छ ।