काठमाडौं । तनहुँको बन्दीपुर गाउँपालिकामा सुविधासम्पन्न बन्दिपुर केबलकार सञ्चालनमा आउने भएको छ । बन्दीपुर गाउँपालिकामै बन्दै गरेको सो केबलकार नयाँ बर्षदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
पहाडकी रानीका नामले परिचित बन्दीपुरमा बन्दै गरेको यो केबलकार नेपालका अन्य केबलकार भन्दा भिन्न हुने बताइएको छ । केबलकारभित्रै रेष्टुरेन्ट र सुत्ने ओछ्यानको सुविधा रहनेछ । पर्यटकले पारदर्शी सिसाभित्र सुतेरै केवलकार घुमेर रमणीय प्राकृतिक स्थलको अवलोकन गरी आनन्द लिन सक्नेछन् । यस्तो सुविधा दिने केबलकारमा दक्षिण एसियामै बन्दीपुर केबलकार पहिलो हुने बताइएको छ ।
यस्तै बन्दिपुर स्काइ वाक एन्ड बन्जी जम्प कम्पनीले बन्जी जम्प र स्काइ वाक पनि निर्माण गर्ने भएको हो। यसको दुई सय ६८ मिटर उचाइमा हुने र यो बन्जी जम्प नेपालकै सबभन्दा अग्लो हुने भएको छ ।
‘ए’ आकारमा तयार हुँने स्काइ वाकमा दुईतिरबाट हिँडेर गोलो भागमा पुगेर रमणीय स्थल हेर्न सकिन्छ । स्काइ९वाक र बन्जी जम्प आगामी नयाँ वर्षबाट निर्माण सुरू हुने बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बताए । सिसाको पुल दैनिक पाँच हजार जनाभन्दा धेरै हिँड्न सक्ने क्षमताको हुनेछ भने यहाँ हिड्न एकदेखि दुई हजार रूपैयाँसम्म शुल्क लिने शर्माले बताए । सिसाको पुलमा आकाशमै हिँडेजस्तो अनुभव हुने उनले बताए ।
यस्तै यस निर्माणाधीन बन्दीपुर केबलकारले आइपीओ पनि निष्कासन गर्ने भएको छ । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले प्राथमिक शेयर निष्कासनका लागि नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेडसँग सम्झौता गरेको छ ।
लिमिटेडको प्रतिशेयर रु एक सय दरका २५ लाख ८० हजार कित्ता शेयर निष्कासन गर्ने बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष शर्माले जानकारी दिए । आइपीओ निष्कासनका लागि बुधबार नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष शर्माबीच धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
कूल रु तीन अर्ब ४९ करोड लागत रहेको कम्पनीको चुक्ता पुँजी रु दुई अर्ब पन्ध्र करोड रहेको छ भने चुक्ता पुँजीको दुई प्रतिशत अर्थात् रु चार करोड ३० लाख बराबरको साधारण सेयर परियोजना प्रभावित स्थानीयलाई रहनेछ ।यस्तै दश प्रतिशत अर्थात रु २१ करोड ५० लाख बराबरको शेयर सर्वसाधारणलाई छुट्याइने छ ।