संहदरबारका नेतालाई फोहोरको थुप्रोमा किन खसाल्न चहान्छन् काठमाडौंका मेयर बालेन?-Sutra News

संहदरबारका नेतालाई फोहोरको थुप्रोमा किन खसाल्न चहान्छन् काठमाडौंका मेयर बालेन?

आइतबार, २६ चैत्र २०७९

आइतबार, २६ चैत्र २०७९

काठमाडौं- केही दिनअघि मात्र काठमाडौं नगरपालिकाको न्यायीक सम्मेलन उद्घाटनका क्रममा मेयर बालेन्द्र उर्फ बालेन साहले प्रमुख अतिथि बनेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डतिर लक्षित गर्दै भनेका थिए,‘संघीय सरकार ५ बर्ष टिक्दा मात्र स्थानीय तहलाई सजिलो हुन्छ।’



उनको भनाईको अर्थ थियो केन्द्रीय सरकार महिनैपच्छिे समीकरण बदल्ने र भागवन्डामा सरकार बनाउने प्रचलनले विकासमा समस्या भइरहेको छ। बालेनको उक्त भनाईप्रति असहमत रहेका प्रचण्डले तत्कालै सरकार ५ बर्ष टिक्ने उत्तर त फर्काए तर गैरदलीय बिजेताले दिएको अर्तीलाई प्रतिशोधका रुपमा लिएको संकेत देखा पर्न थालेको छ।

यसैकारण पनि बालेन साहले शनिबार गरेका निरन्तरका प्रहारमा पनि केही संकेत छन्। पहिलो त उनले सिंहदरबारभित्रको फोहोर शनिबारदेखि नउठ्ने चेतावनी मात्र दिएनन्, सिंहदरबारका नेतालाई सिसडोलमा डम्प गर्नुपर्छ भन्ने तर्क पनि अघि सारे। अर्थात् काठमाडौं उपत्यकाको फोहोर फ्याँकेर बनेको थुप्रोमा नेतालाई खसाल्नुपर्छ भन्ने बालेनको अर्थ थियो। आखिर उनले यसको भन्नु पछाडिको खास कारण के थियो?

यसको खोजीनीति गरिएको छ। महानगरको सौन्दर्यताका निम्ति निरन्तर खटिरहेका बालेन बागमती किनारमा जमिन कब्जा गरी बसेका सुकुम्बासीलाई हटाउन चहान्छन्। उनले त्यहाँ डोजर चलाउन सुरुआत पनि गरेका थिए। तर, प्रहरी प्रशासनको मात्र होइन, सिंहदरबारमा बसेर राजनीतिक दलका नेताले मुलुकको प्रशासन चलाउँदा बालेनलाई सहयोग गरेनन्। यसकारण उनी आवेगमा आएको प्रष्ट हुन्छ।

भिडियोमा पनि हेर्नुस् –

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग उनले सुरक्षाको सहयोग माग गरिरहेका थिए तर राजनीति दाउपेचमा खेल्न अब्बल नेताले बालेनको योजना र मर्मलाई नबुझेपछि उनी आक्रोशित भए। यसकारण पनि उनले सामाजिक सञ्जालमा एकपछि अर्को सन्देश जारी गर्दै संघीय सरकारमाथि प्रहार गरिरहे। र, पछिल्लो पटक धारणसहितको प्रश्न गरेका छन्,‘इन्डिया र चाइनाले बनाएको सरकारको कुनै इज्जत गर्दिन म, नेपाल स्वाधीन कहिले हुने?’

स्वतन्त्र उम्मेदवार हुँदै काठमाडौंको मुहार चम्काउनका लागि सक्रिय रहेका बालेनका अभिव्यक्तिमाथि राजनीतिक दलका कार्यकर्ताले असभ्य भएको भनेर टिप्पणी गरे पनि उनको योजनाको गहिराईलाई बुझ्ने प्रयास नगरेको स्पष्ट देखिन्छ।
हुन त गैरराजनीतिक विषयमा पनि सामाजिक सञ्जालमा टिप्पणी र कमेन्ट गरेका कारण बालेन बीचबीचमा चर्चा र विवादमा नआएका होइनन्। तर शनिबारको उनको धारणा भने विशुद्ध दलीय नेताले असहयोग गरेको विन्दुमा नै राखेर हेर्न मिल्दछ।

सुकुम्बासी र फोहोरको राजनीतिक गरेर काठमाडौंका मेयरलाई असफल बनाउनका लागि सत्ता गठबन्धन लागेको स्पष्ट नै थियो। उनलाई अहिलेदेखि होइन, बीच-बीचमा पनि अनौपचारिक हिसाबमा पेल्ने गरेका तथ्य सतहमा नआएका होइनन्। त्यसैले केही साताअघि मात्र पनि उनले सामाजिक सञ्जालमार्फत भनेका थिए,‘मलाई दबाबमा राजीनामा गराउन खोजिँदैछ तर म गिभअप गर्दिन।’

यद्यपि सामाजिक सञ्जालमा काठमाडौं महानगरको मेयर जस्तो गरिमामय पदमा रहेका बालेनका कतिपय प्रश्न, उत्तर र टिप्पणीको बेलामौका चर्चा हुने नै गरेको छ। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसँगको जुहारी, एउटा हास्य कार्यक्रमका निर्देशक विशाल भण्डारीसँगको अर्को फेसबुके जुहारीले पनि उनी विवाद र चर्चामा रहेका थिए।

तर, पछिल्लो पटक भने उनले काम गर्न खोज्दा गरिएको घेराबन्दीलाई भावनाका रुपमा प्रतिबिम्बित गरेका हुन्, उनका यी प्रश्नहरूमा आमसाधारण घोत्लिन आवश्यक छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट