नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको अर्थतन्त्रको विषयमा प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारको बचाउ गरेका छन् ।
नेपाली कांग्रेस दाङले घोराहीमा आज आयोजना गरेको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रचण्डको बचाउ गरेका हुन् ।
देशको अर्थतन्त्र धरासयी अवस्थामा पुगेको बेला प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुपर्नेमा गगनले उल्टै देशको अवस्था यहाँ पुग्नुमा प्रचण्ड नेतृत्वको सरकारको दोष नभएको बताए।
“देशमा आर्थिक सङ्कट गहिरिँदै जानुमा अहिलेको सरकार मात्र दोषी छैन, यो अवस्था आउनुमा विगत २० वर्षदेखिको सत्ता साझेदारहरुको भूमिका छ ।” उनले भने।
उनले यहाँको सम्भावनालाई सही रुपमा परिचालन गरेर उत्पादनलाई अर्थव्यवस्थासँग जोडेर सङ्कटग्रस्त अवस्थाबाट माथि उठाउन सबैको साथ सहकार्य आवश्यक रहेको बताए।