काठमाडौं, २७ चैत । काठमाडौं र झापाबाट जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका छन् । काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-८ मण्डिखाटार डेरा गरी बस्ने ४२ वर्षीया हेमा गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा गुरूङसमेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७० हजार रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । झापाकाे कमल गाउँपालिका-३ केर्खा बजार बस्ने ३७ वर्षीय सुरेन राईको घरमा जुवातास खेलिरहेको अवस्थामा राईसमेत १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी केर्खाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३५ हजार ६ सय रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।