अभिनेता नरेन खड्का वैशाख १ गते रिलिज हुने ‘बुलाकी’ सिनेमाबाट आशावादी देखिएका छन्।
अभिनेत्री रेखा थापाको जोडी बनेर ‘हमेशा’बाट नेपाली रजतपटमा डेब्यू हुँदा दमदार करियरको अपेक्षा गरेका नरेनको त्यसपछिको करियर भने लयात्मक हुन सकेन।
‘हमेशा’ पश्चात अभिनेता खडका्ले विभिन्न नेपाली सिनेमाका साथै केही भोजपुरी सिनेमामा समेत अभिनय गरे तर राम्रो कथावस्तु छनोट गर्न नसक्दा उनी हालसम्म पनि परिचयका लागि संघर्षरत नै छन्।
तर ‘बुलाकी’बाट भने आफूले राम्रो अपेक्षा गरेको उनी बताउँछन्।
जारी प्रथामा आधारित ‘बुलाकी’ मा आफू सशक्त भूमिकामा देखिएको उनको दाबी छ।
अभिनय क्षमता भएर पनि अभिनेता खड्काले काम गरेका सिनेमाहरुले दर्शकको साथ नपाउनु तथा उनले छनोट गरेका कतिपय सिनेमा नै गलत पर्नु पनि उनको कामको मूल्यांकन हुन नसकेको धेरैको बुझाइ छ।
‘कतिपय अवस्थामा मेरो पनि आफ्नै कमजोरी छ। मैले केही प्रोजेक्टहरूमा आफूलाई हेलचेक्र्याई पनि गरेँ। तर, बुलाकीबाट दर्शकले मलाई र मेरो अभिनयलाई पहिचान गर्नुहुन्छ भन्ने अपेक्षा छ’, उनी भन्छन्।
‘बुलाकी’ मा अभिनेता खड्काले कर्णाली प्रदेशको एक साधारण विवाहित युवक चन्द्रयाको भूमिका निवार्ह गरेका छन्। विवाह गरेको लामो समयसम्म पनि निःसन्तान भएका कारण श्रीमतीसँग सम्बन्ध राम्रो छैन। खेती–किसानी गरेर आमा र श्रीमतीको खर्च जोहो गरिरहेका छन्।
सिनेमाका सार्वजनिक प्रचार सामाग्री ट्रेलर हेर्दा अभिनेत्री सुरक्षा पन्तसँगै अभिनेता खड्काले पनि उत्कृष्ट काम गरेको अनुमान गर्न सकिन्छ।
अभिनेता खड्का आफैँ पनि सुदुरपश्चिममा जन्मि–हुर्केका हुनाले कर्णाली प्रदेशको एक साधारण युवकको भूमिकामा काम गर्न सहज भएको बताउँछन्।
उनी भन्छन्– ‘बुलाकी मेरो कमब्याक सिनेमा हुनेछ।’
‘बुलाकी’मा कर्णालीको ग्रामीण जीवन, रीतिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह–अवरोहलाई प्रस्तुत गरिएको अभिनेता खड्काको भनाइ छ।
उनको यो भनाइमा कत्तिको दम छ भन्ने कुरा वैशाख १ गतेको रिलिज पश्चात थाहा नै हुनेछ। यध्यपी सिनेमालाई लिएर उनीमा देखिएको आत्मविश्वासले उनको करियरलाई नयाँ दिशा प्रधान गर्ने अपेक्षा गर्न सकिन्छ। उनको अपेक्षा पूरा होस्।
सिनेमामा अभिनेता खड्का तथा अभिनेत्री पन्तसंगै विराज बिष्ट, रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादुर राई, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाइ, प्रकाश कँडेल र सरस्वती खत्री अभिनय गरेका छन्।
छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व. मोती बिष्टको प्रस्तुति रहेको यो फिल्म शिव ढकालले खिचेका हुन् । अर्जुन जिसीले सम्पादन गरेको सिनेमामा राज बहादुर सानेको कथा, राजबहादुर साने, निर्मल पौडेल र निर्देशक सुनार तथा अभिनेता बिष्ट पटकथा तथा संवाद रहेको छ।
लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको सिनेमाको छायांकन डोल्पा, जाजरकोट र रुकुम पश्चिमका रमणीय स्थानमा गरिएको छ। सिनेमालाई त्रिनेत्रम् र एफडी गर्दैछन्।