नेपाली कांग्रेसभित्रको आन्तरिक किचलोले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले अझै पूर्णता पाउन सकेको छैन। एमालेसहित सात दलीय गठबन्धन भत्काउन एकजुट बनेका कांग्रेस नेताहरू मन्त्रालय भागबन्डामा आपसमै नमिल्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको हो ।
१० दलीय गठबन्धनमा कांगे्रसले आठ मन्त्रालय पाएको छ। कांग्रेस चार मन्त्रीसहित सरकारमा सहभागी भए पनि आन्तरिक सहमति जुट्न नसक्दा बाँकी चार मन्त्री र एक राज्यमन्त्री उसले छान्न सकेको छैन। सत्ता साझेदार दलहरूबीच चैत १६ गते मन्त्रालय भागबन्डामा सहमति भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले आफूनिकट चार नेतालाई १७ गते सरकारमा पठाएका थिए। नेता शेखर कोइराला नेतृत्वको संस्थापन इतर समूहले पार्टीभित्रको भागबन्डामा चित्त नबुझाएपछि कांग्रेस सभापति देउवाले चार जनालाई मात्र सरकारमा पठाएका हुन्।
सभापति देउवाले संस्थापन इतर समूहलाई दुई मन्त्री दिने तयारी गरेका थिए। इतर समूहले तीन मन्त्री पाउनुपर्ने र आफूहरूले पाउने मन्त्रालयको नाम पनि पहिल्यै टुंगो लगाउनुपर्ने अडान राख्यो। देउवा तीन मन्त्रालय दिन तयार नभएको र मन्त्रालय पनि आफैंले तोक्ने पक्षमा रहेकाले नाम नदिएको इतर पक्षीय नेताहरूको भनाइ छ। उपप्रधानसहित चार महŒवपूर्ण मन्त्रालय संस्थापन पक्षले लिएको र परराष्ट्र तथा स्वास्थ्य मन्त्रालय पनि आफैं राख्ने पक्षमा देउवा रहेको इतर पक्षको बुझाइ छ। ‘स्वास्थ्य, परराष्ट्रसहित तीन मन्त्रालय नपाएसम्म हामी सरकारमा सहभागी हुँदैनौं,’ इतर पक्षका एक नेताले भने, ‘संस्थापन पक्षले छाडेका मन्त्रालय लिएर हामी सरकारमा साक्षी मात्र बस्ने पक्षमा छैनौं ।’
तर संस्थापन पक्षका नेताहरू भने संख्या र मन्त्रालयभन्दा इतर पक्षमै सरकारमा को को जाने भन्नेमा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा समस्या भएको दाबी गर्छन्। नेता कोइराला र महामन्त्री गगनकुमार थापा पक्षबीच नै सरकारमा पठाउने व्यक्तिमा सहमति हुन नसक्दा समस्या भएको देउवानिकट नेताको बुझाइ छ। कोइरालाले उपसभापति धनराज गुरुङ र डिकबहादुर लिम्बुलाई सरकारमा पठाउन चाहेको तर महामन्त्री थापाले केन्द्र्रीय सदस्य प्रदीप पौडेलको नाम प्राथमिकताका साथ अघि सार्दा समस्या भएको संस्थापन पक्षको दाबी छ।
उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस सरकारमा गएको छ। खड्का उपप्रधान तथा रक्षामन्त्री भएका छन्। इतर पक्षबाट सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारले पनि मन्त्री बन्ने आकांक्षा राख्दै आएका छन्। उनीहरूले दुवै महामन्त्री सरकारमा सहभागी नहुने भएपछि उपसभापति गुरुङपछि मर्यादा क्रममा आफूहरू रहेको जनाउँदै मन्त्रीका लागि दाबी पेस गर्दै आएका छन्। पाण्डे बाजुराबाट प्रतिनिधिसभामा निर्वाचित र परियार समानुपातिक सदस्य हुन्।
अहिले सरकारमा कांग्रेस सभापति देउवानिकट खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग र सीता गुरुङ सहरी विकास मन्त्रालयको जिम्मेवारीमा छन्। कांग्रेसको भागमा परराष्ट्र, स्वास्थ्य, कानुन र युवा तथा खेलकुद मन्त्रालय पनि परेका छन्। देउवाले एनपी साउदलाई परराष्ट्र र मोहनबहादुर बस्नेतलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिन चाहेका छन्। बाँकी दुई मन्त्रालय इतर पक्षलाई दिने देउवाको तयारी छ। कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, शशांक कोइरालाले पनि सरकारमा भाग खोज्दै आएका छन्।