काठमाडौं – सांसद ढाकाकुमार श्रेष्ठसँग जोडिएको अडियो प्रकरणबारे निर्णय लिन आज केन्द्रीय समितिको बैठक बस्दैछ । केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद श्रेष्ठले गरेको भनिएको अडियोसम्बन्धी प्रतिवेदन मङ्गलबार सभापति रवि लामिछानेलाई बुझाएकाले निर्णय लिन केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।
समितिले मंगलबार सांसद श्रेष्ठसँग करिब एक घण्टा सोधपुछ गरेको थियो । बयानका क्रममा उनले आफूलाई फसाउन षड्यन्त्र भएको बताए । उनले पार्टीले आफूलाई मात्र कडा कारबाही गरे ‘कोर टिम’ खुलासा गर्ने चेतावनी समेत दिए ।
समितिका एक सदस्यले भने ‘मलाई फसाउन खोजिएको हो, यस्तो अप्ठ्यारो परेका बेला मलाई एक्लो पारिए कोर टिमका बारेमा सार्वजनिक रूपमा बोल्न बाध्य हुनेछु भनेर उनले धम्की दिएका छन् ।