सोलुखुम्बु, २९ चैत-सगरमाथामा गएको हिमपहिरोमा परी तीन जनाको ज्यान गएको छ । आरोहीहरूको सामान लिएर सगरमाथाको आधार शिविरबाट पहिलो शिविर जाँदै गरेकाहरू खुम्बु आइसफलभन्दा माथि र पहिलो शिविरभन्दा केही तल बिहान हिमपहिरोमा परेर मुत्यु भएको बताइएको छ ।
सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसी)का अध्यक्ष लामाकाजी शेर्पाका अनुसार ज्यान गुमाउने तीनै जना खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ का थेसुका शेर्पा छन् ।
पाँच हजार सात सय मिटरको उचाइमा भएको दुर्घटनामा मृत्यु हुनेहरूमा तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पा छन् । उनीहरू इम्याजिन ट्रेक प्रालिबाट सगरमाथा आरोहणमा गाइडको भूमिकामा रहेका थिए । बिहान एक्कासि आएको पहिरोका कारण मृतकको शव खोंचमा पुरिएको छ ।शव निकाल्न हेलिकोप्टर पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ ।