काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बुधबार साँझ पत्रकार सम्मेलनमार्फत मन्त्री बन्न दुई करोडको बार्गेनिङ गरेका सांसद ढाकाकुमार श्रेष्ठलाई निष्काशन गरेको निर्णय सुनाए। ‘कोर टिम’को प्रसङ्ग आएपछि केही नरम मिजासमा शालिन ढङ्गले पत्रकार सम्मेलनमा प्रस्तुत भएका रविले त्यसबारे भने सन्तोषजनक उत्तर दिएनन्। बरु, निष्काशन गरेको र कारबाही गरिएको आवेगमा ढाकाकुमारले आक्षेप लगाउन सक्नेतिर कुरा मोडिदिए।
‘कोर टिम’ भन्दै उनकी पत्नी निकिता पौडेल लामिछाने, स्वकीय सचिव तथा केन्द्रीय सदस्य दीपक बोहरा र उपसभापति डीपी अर्यालका विषयको अगाडि आइरहेको प्रसङ्गलाई हौवा मात्र रहेको शैलीमा टिप्पणी गरे। लामो समयसम्म यस विषयमा उत्तर दिएका उनले ढाकाकुमारले केन्द्रीय समितिको बैठकमा उत्तर दिने क्रममा धम्क्याउने शैलीमा पनि कुराकानी गरेको मात्र बताएनन्, बार्गेनिङ शैलीमा प्रस्तुत भएको भनी आफैं आक्षेप पनि लगाए।
ढाकाकुमारको कारबाही कोर टिम भनिएका नजिकका पात्रलाई जोगाउनका लागि रवि लामिछानेको कदम रहेको टिप्पणी हुन थालेको छ। निर्वाचनका बेला जनमत लिनका लागि ‘देख्यौ, हामीले कारबाही गरेर देखायौं’ भनी प्रचारमा जाने र आफ्नालाई जोगाउने रणनीति लामिछानेले अपनाएको टिप्पणी हुन थालेको छ। अर्थात्, सर्प पनि मर्ने र लठ्ठी पनि नभाँच्चिने नीति लामिछानेले अख्तियार गरेको स्पष्ट बनेको बताइन्छ।
पत्रकार सम्मेलनमा रवि लामिछानेकै तर्क पनि आफैंमा बाझिएको थियो। तथ्य प्रमाणित भइनसकेको बताएका उनले ढाकाकुमारले पुनरावेदन गर्न सक्ने प्रावधान पनि रहेको बताए तर सोही केन्द्रीय समितिले सांसद पदबाट हटाएर अर्कोलाई बनाउने निर्णय गरेको पनि सुनाए। विन्दबासिनी कंसाकारलाई सांसद बनाउने निर्णय भएको थियो। एउटी एसीडपीडितलाई सांसद बनाउने निर्णय सही भए पनि ढाकाकुमार प्रकरणको छिनोफानो नभई रास्वपाले किन हतार गरेको होला? रवि लामिछानेमाथि यो प्रश्न पनि खडा भएको थियो। तर, फेरि उनी आफैंले ढाकाकुमार दोषी भएको भन्ने तहसम्मको पनि तर्क गरेका थिए।
भिडियो हेर्नुस्
बारामा चुनावी सभाका क्रममा उक्त अडिओ सार्वजनिक हुनासाथ आफूले गढीमाईमा बली चढाउनू भनी दिएको अभिव्यक्ति भने भावआवेग भएको पनि स्वीकार गरेका लामिछानेले पत्रकार सम्मेलनका क्रममा कानुनी कारबाहीका लागि जाने फुर्सद नभएको बताएका थिए।
यता, उनले सामाजिक सञ्जालमा भने पत्नीसँगको तस्बिर राख्दै कडा भाषामा अर्को फरक टिप्पणी गरिदिए।
उनले सामाजिक सञ्जालमा पत्नीको प्रतिरक्षामा लेखेका छन्,‘एक आफैंमा योग्य, सक्षम महिला जसलाई आफ्नो श्रीमानको प्रगतिबाहेक राजनीतिमा केही लिनु दिनुछैन, कायरहरू उसमाथि खनिएका छन्।’ केही समयअघि आवेगपूर्ण भाषामा मिडियामाथि जाई लागेका उनले सोही शैलीमा अगाडि लेखेका छन्,‘बिना आधार, बिना प्रमाण कायरतापूर्वक गरिएको आक्रमणको हिसाब राखेका छौं। निराधार राखिएका समाचार र पोस्टहरू नहटाए कडा कानुनी प्रक्रियामा जान्छौं। प्रिय निकिता पौडेल लामिछाने बिना कारण तिमीले सहनुपरेको बद्नामी र तनावप्रति कायरहरुको तर्फबाट म क्षमा चहान्छु। नपिर गर, हामी यो घेराबन्दी तोड्नेछौं, हामी जित्नेछौं।’