काठमाडौं, ३० चैत । सभामुख देवराज घिमिरेले अहिलेको संसदबाट जनताको आशा र भरोसा धेरै रहेको बताएका छन् ।नयाँ वर्ष २०८० का अवसरमा संघीय संसद सचिवालयले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनले २०७९ सालमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबाट नयाँ जनप्रतिनिधिहरुसँग जनताको आशा र अपेक्षा धेरै रहेको बताए । आगामी वर्ष जनताप्रतिको दायित्व पूरा गर्न लाग्नुपर्ने उनले बताए ।
यस्तै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि वर्ष २०७९ मा पनि देशले स्थिरता दिन नसकेको बताए ।दुई महिनामै सरकार परिवर्तन हुँदा निरासा पैदा भएको बताउँदै उनले सरकार स्थिर नहुँदा राम्रो गर्नेले पनि काम गर्न नपाएको बताए ।
‘विधेयकहरु समितिमा पठाउँदा ‘डिले’ हुन्छ भन्ने मानसिकता विकास हुनु दुःखद् छ । समितिहरु ढिला हुँदा कर्मचारीसँग जोडिएका, मानवअधिकारसँग जोडिएका र जनताको दैनिक जीवनसँग जोडिएका विधेयकहरु अघि बढ्न सकेको छैन,’ उनले भने ।